वैश्विक महामारी सिर्जना गर्ने घातक कोरोना भाइरसको ओमिक्रोन प्रकारमाथि गरिएको आफ्नो अनुसन्धान प्रस्तुत गर्न बानरहाटका एक युवा विश्व मञ्चतर्फ प्रस्थान गरेका छन्। जर्मनीको फ्राङ्कफुर्टस्थित हाइडलबर्ग विश्वविद्यालयको सेमिनारमा सुप्रतीम सरकारलाई निमन्त्रणा प्राप्त भएको छ। तिनी हाल कोलकाताको इण्डियन इन्स्टिच्युट अफ केमिकल बायोलोजी (आईआईसीबी) मा वरिष्ठ अनुसन्धान स्कलरको रूपमा कार्यरत छन्। 700 वर्ष पुरानो उक्त विश्वविद्यालयमा बिहीवार तिनले आफ्नो अनुसन्धान पत्र प्रतिष्ठित वैज्ञानिकहरूका सामु प्रस्तुत गर्नेछन्। यसअघि नै सुप्रतीम जर्मनी पुगिसकेका छन्। त्यहाँ सोसाइटी फर भाइरोलोजीको 35औँ वार्षिक सभा आयोजना भइरहेको छ। यो कार्यक्रम 20 मार्चसम्म चल्नेछ। बुधवार जर्मनीबाटै तिनले भने, म अत्यन्त खुशी छु। काउन्सिल अफ साइएन्टिफिक एण्ड इण्डस्ट्रियल रिसर्चले मलाई यहाँ आउने अवसर दिएकोमा म कृतज्ञ छु। भविष्यमा विज्ञानमा अझ राम्रो काम गर्न चाहन्छु।
बानरहाटको खुदीरामपल्लीमा सुप्रतीमको घर छ। तिनका बाबा तुषार सरकार बानरहाट हाई स्कूलका रसायनशास्त्रका सेवानिवृत्त शिक्षक हुन्। सानैदेखि पढ़ाईमा अब्बल रहेका सुप्रतीमले उक्त विद्यालयबाट 2010 मा माध्यमिक र 2012 मा उच्च माध्यमिक उत्तीर्ण गरे। त्यसपछि तिनले प्रेसिडेन्सी विश्वविद्यालयबाट लाइफ साइन्समा स्नातकोत्तर उपाधि प्राप्त गरे। नेट परीक्षामा अखिल भारतीय स्तरमा शीर्ष 100 भित्र स्थान हासिल गरेर तिनले आईआईसीबीमा अनुसन्धान कार्य आरम्भ गरेका थिए। यसअघि नयाँ दिल्लीको एम्समा पनि तिनले आफ्नो अनुसन्धानपत्र प्रस्तुत गरेर प्रशंसा प्राप्त गरेका थिए। यसपटक विश्वमञ्चमा भारतीयका रूपमा आफ्नो कार्य प्रस्तुत गर्ने अवसर आएको छ।
स्वाभाविक रूपमा छोराको सफलताप्रति सुप्रतीमका बाबा गर्वित छन्। तिनले भने, छोरो सधैँ नयाँ विषयमाथि रुचि राख्छ। कोरोना भाइरसले आज पनि मानिसको मनमा त्रास उत्पन्न गर्छ। ओमिक्रोनमाथि तिनले गरेको कामले यदि भविष्यमा कुनै नयाँ दिशा देखाउन सक्छ भने त्यो ठूलो उपलब्धि हुनेछ। अर्कातिर आमा शुक्ला सरकारले भनिन्, छोराको सफलताले परिवारका सबै सदस्य खुशी छन्। तर तिनको कामले समाजलाई फाइदा पुर्यािए त्यसभन्दा ठूलो खुशी अरू केही हुने छैन।
ओमिक्रोनको रहस्य उजागर गर्न विश्व मञ्चमा बानरहाटका युवा

