स्वेच्छामृत्यु’ माग्दै लामो समयदेखि आफूलाई घरभित्र थुनेर राखेकी एक महिलालाई ढोका फुटाएर पुलिसले उद्धार गरेको छ। यस घटनालाई केन्द्रमा राख्दै जलपाइगढ़ी नगरपालिकाको 25 नम्बर वार्डको शान्तिपाड़ामा हलचल मच्चिएको छ। दिनहुँ खानपिन बन्द गरेर ढोका बन्द गरी घरभित्रै बसेकी शान्ता होम (48) नामक अविवाहित महिलाको शरीर कङ्कालजस्तै दुब्लो भएको छ। स्थानीय काउन्सिलर र वासिन्दाहरूको सहयोगमा एकलो जीवन बिताइरहेकी उक्त महिलालाई उद्धार गरी सोही दिन उपचारका लागि जलपाइगढ़ी मेडिकल कलेजमा भर्ना गरिएको छ। तिनले किन स्वेच्छामृत्यु माग्दै आफूलाई घरभित्र थुनेर राखेकी थिइन् भन्ने विषयबारे पुलिसको प्रश्नमा उक्त महिलाले स्पष्ट रूपमा केही पनि बताइनन्। तिनले भनिन्, मेरो बुबा-आमा छैनन्। कोही छैन। म बाँच्न चाहन्नँ। तिनको मानसिक स्वास्थ्यको पक्ष पनि चिकित्सकहरूले जाँच गरिरहेका छन्।
क्षेत्रका वासिन्दाहरूअनुसार, उक्त महिलाका बुबा प्रमोदचन्द्र होम धेरै वर्षअघि नै बितेका थिए। तिनकी आमा लक्ष्मी होमको मृत्यु सन् 2014 मा भएको थियो। तिनको अन्य कुनै दाजु-भाइ वा दिदी-बहिनी छैनन्। दुई-एकजना आफन्त भए पनि तिनीहरूले खबरदारी गर्दैनन्। तिनी घरमा एकलै बस्दै आएकी थिइन्। निजी ट्युसन पढ़ाएर आफ्नो खर्च चलाउँथिन्। कहिलेकाहीँ आफै घरमा खाना पकाउँथिन् भने कहिलेकाहीँ गौडीय मठबाट प्रसाद ल्याएर खान्थिन्। तर पछिल्ला केही महीनादेखि तिनले घर बाहिर निस्कन छोड़ेकी थिइन्। त्यसैले तिनले के खाइरहेकी थिइन् र दिनभरि घरभित्र के गरिरहेकी थिइन् भन्नेबारे स्थानीयहरूमा शङ्का उत्पन्न भएको थियो। मङ्गलवार बिहान तिनीहरू समूहमा उक्त महिलाको घरमा गएर बोलाए। त्यसपछि स्थानीय काउन्सिलर पौषाली दासलाई खबर गरियो। तिनी पनि आएर भित्रबाट बन्द ढोकाबाहिर उभिएर शान्तालाई बोलाइन्। लामो समयसम्म कुनै प्रतिक्रिया नआए पनि अन्ततः भित्रबाट उत्तर आयो, म स्वेच्छामृत्यु चाहन्छु। कसैले मलाई हैरानी गरे म आत्महत्या गर्नेछु।
महिलाको यस्तो धम्कीले क्षेत्रका वासिन्दाहरू त्रसित भए। तुरुन्तै पुलिसलाई खबर गराइयो। पुलिस आएर उक्त महिलालाई घरबाट बाहिर निकाल्न धेरै प्रयास गऱ्यो। पहिले झ्याल फुटाएर महिलासित कुराकानी गरियो। लामो समयदेखि खानपिन नगरी ढोका बन्द गरेर घरभित्र बस्दा तिनको शरीर अत्यन्त कमजोर र दुब्लो भएको देखियो। त्यसपछि पनि तिनी आफ्नो निर्णयमा अडिग रहिन्। अन्ततः पुलिस र काउन्सिलरको उपस्थितिमा ढोका फुटाएर छिमेकीहरू भित्र पसे। शान्ता नामक उक्त महिलालाई उद्धार गरेपछि एम्बुलेन्समार्फत अस्पताल लगियो। जलपाइगढ़ी 25 नम्बर वार्डकी तृणमूल काउन्सिलर पौषाली दासले भनिन्, पुलिस र स्थानीय मानिसहरूको सहयोगमा महिलालाई उद्धार गरेर अस्पताल पठाइएको छ।
घरबन्दी महिलाको उद्धार

