Breaking
Thu. Mar 19th, 2026

11 जिल्ला शासक स्थानान्तरण

पश्चिम बङ्गाल चुनाउ 2026 को पूर्वसन्ध्यामा राज्यभरि एकसाथ धेरै जिल्ला शासकहरूलाई स्थानान्तरण गरिएको छ। यसमा उत्तर बङ्गालका धेरै जिल्ला पनि समावेश छन्। बुधवार नै आयोगले राज्यका पाँच स्थानका डीआईजी पदाधिकारीहरूलाई हटाउने निर्देशिका जारी गरेको थियो। त्यसको लगभग एक घण्टाभित्रै जिल्ला शासकहरूलाई पनि स्थानान्तरण गरियो। निर्देशिकामा राज्यका 11 जिल्लामा नयाँ जिल्ला शासक नियुक्त गर्ने विषय उल्लेख गरिएको छ। उक्त सूचीमा दार्जीलिङ, अलिपुरद्वार, कोचबिहार, जलपाइगढ़ी, उत्तर दिनाजपुर, मालदा, मुर्शिदाबाद, नदिया, पूर्व बर्धमान तथा दुवै 24 परगना समावेश छन्। यी सबै सम्बन्धित जिल्लाका निर्वाचन अधिकारीको जिम्मावारीमा थिए। यसबाहेक कोलकाताका दुई डीईओलाई पनि हटाइएको छ। बुधवार आयोगले यस सम्बन्धमा निर्देशिका जारी गरेको हो।
जिम्मावारी सम्हालेको दुई दिनमै दार्जीलिङका जिल्ला शासक सुनील अग्रवाललाई हटाइएको छ। आज बिहान तिनले निर्वाचन सम्बन्धी पत्रकार सम्मेलन गरेका थिए। त्यसपछि तुरुन्तै निर्वाचन आयोगले स्थानान्तरणको आदेश जारी गर्यो । तिनको स्थानमा हरिशङ्कर पनिक्करलाई जिम्मावारी दिइएको छ। तिनी यसअघि सिलगढ़ीका महकुमा शासकको रूपमा कार्यरत थिए। उल्लेखनीय छ, यसअघि दार्जीलिङका जिल्ला शासक मनीष मिश्र थिए। तर राष्ट्रपतिको भ्रमणमा उत्पन्न विवादका कारण केन्द्रले तिनलाई दिल्लीमा डेपुटेशनमा बोलाएको थियो। त्यसपछि राज्य सरकारले तिनलाई जिल्ला शासक पदबाट हटाएको थियो। त्यस स्थानमा डब्ल्यूबीसीएस अधिकारी सुनील अग्रवाललाई ल्याइएको थियो। अहिले आयोगले तिनलाई पनि हटाएको छ।
दार्जीलिङ मात्र होइन उत्तर बङ्गालका कोचबिहार, जलपाइगढ़ी, उत्तर दिनाजपुर, अलिपुरद्वार र मालदा जिल्लाका जिल्ला शासकहरूलाई पनि परिवर्तन गरिएको छ। नयाँ जिम्मावारी पाएका अधिकारीहरू कोचबिहारमा जितेन यादव, जलपाइगढ़ीमा सन्दीप घोष, उत्तर दिनाजपुरमा विवेक कुमार, अलिपुरद्वारमा टी बालासुब्रह्मण्यम अनि मालदामा राजनबीर सिंह पुर जिल्ला शासक नियुक्त गरिएको छ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *