Breaking
Fri. Mar 6th, 2026

राजु विष्टविरुद्ध धम्कीपूर्ण भाषा प्रयोगको आरोप

दार्जीलिङका भाजपा सांसद राजु विष्टविरुद्ध पुलिसलाई फोनमार्फत धम्की दिएको आरोप उठेको छ। सांसद राजु विष्टले मभन्दा ठूलो गुण्डा कोही छैन भनेको आरोप पनि छ। सामाजिक सञ्जालमा भाइरल भएको एउटा भिडियोमा राजु विष्टले यस्तै मन्तव्य गरेका आरोप पनि छ। यस विषयबारे राजनीतिक क्षेत्रमा तीव्र आलोचना आरम्भ भएको छ।
प्राप्त जानकारीअनुसार सिलगढ़ी महकुमा परिषदअन्तर्गत जालास निजमतारा क्षेत्रको झमकलाल जोत गाउँमा गत दिसम्बर महीना जग्गा विवादलाई केन्द्र गरेर दुई पक्षबीच विवाद उत्पन्न भएको थियो। त्यसपछि दुवै पक्षका केही व्यक्ति कुटपिटमा घाइते भएका थिए। त्यति बेला घाइतेमध्ये एक गर्भवती महिलालाई गम्भीर अवस्थामा उत्तर बङ्गाल मेडिकल कलेज औ अस्पतालमा भर्ना गरिएको थियो। पछि सन्तान जन्माएको केही दिनमै शिशुको मृत्यु भएको थियो।
मङ्गलवार उक्त महिलाको घरमा क्षेत्रका विधायक तथा भाजपा कार्यकर्ता–समर्थकहरूसित सांसद राजु विष्ट पुगेका थिए। त्यहाँबाट घटनाको जाँच कति अघि बढ़ेको छ भन्ने विषयमा तिनले पुलिसलाई फोन गरेका बताइएको छ। आरोप अनुसार केही समय कुराकानीपछि फोनको अर्को छेउमा रहेको फाँसीदेवा थानाका पुलिस अधिकारीलाई धम्कीपूर्ण स्वरमा सांसद राजु विष्टले तपाईँ तृणमूलको दलाल हो त? तपाईँ कससित कुराकानी गर्दै हुनु हुँदैछ भनेर थाहा छ? जति गुण्डा छन् सबैलाई भनिदिनु मभन्दा ठूलो गुण्डा अरू कोही छैन! भनेर मन्तव्य गरेको आरोप छ।
यस घटनाबारे दार्जीलिङ जिल्ला तृणमूलका अध्यक्ष सञ्जय टिब्रीवालले भने, एकजना सांसदले यस्तो भाषा प्रयोग गर्दा बुझ्न सकिन्छ यो नै तिनीहरूको संस्कृति हो। देशका जहाँ–जहाँ भाजपा शासित राज्य छ त्यहाँ यस्तो धमक्याउने संस्कृति चल्न सक्छ। तर यो बङ्गाल हो। यहाँ मुख्यमन्त्री ममता ब्यानर्जीको शासन चल्छ। यहाँ कानूनअनुसार चल्छ। त्यसैले यसरी धम्की दिएर कुनै फाइदा हुँदैन। सांसद राजु विष्टविरुद्ध उठेको विवादबारे बोल्दै तृणमूल नेता तथा सिलगढ़ी नगर निगमका डेपुटी मेयर रञ्जन सरकारले भने, भाजपाका नेताहरू चुनाउ जितेर कि त आफूलाई भगवान बताउँछन् वा शैतान बताउँछन्। संसद जस्तो गरिमामय स्थानमा चुनिएर जाने ज्ञानी व्यक्तित्वहरूबाट यस्तो भाषाको आशा गरिएको थिएन। राजु विष्ट यहाँका भूमिपुत्र पनि होइनन्। तिनको आफ्नै राज्यमा यस्तो भाषा प्रयोग गरिएको भए चल्ने थियो होला। तर बङ्गालमा यस्तो भाषा स्वीकार्य छैन। हामी पनि यस्तो भाषाको प्रयोग गर्दैनौँ। सम्भवत तिनलाई बङ्गाली भाषा अनि बङ्गाली संस्कृतिको चेतना नरहेर नै यस्तो भाषाको प्रयोग गरिएको हुन सक्छ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *