Breaking
Fri. Mar 6th, 2026

तृणमूल नेताविरुद्ध आरोप

ग्राम पञ्चायत सदस्य निर्वाचित हुनअघि राजु मण्डल टिनको घरमा बस्थे। अहिले तिनी चारतल्ले घरका मालिक बनेका छन्। राज्यमा तृणमूल कङ्ग्रेसका ग्राम पञ्चायत तहका जनप्रतिनिधिहरूको प्रभाव कसरी बढ़ेको छ भन्ने विषयमा चर्चा र आरोपको अन्त छैन। तर फूलबारी 1 ग्राम पञ्चायतको पोड़ाझार क्षेत्रका पञ्चायत सदस्य राजुले केही वर्षमै जसरी सम्पत्ति आर्जन गरेका छन् त्यसबारे तृणमूलभित्रै असन्तोष छ। तिनको विरोधी समूहका नेता–कार्यकर्ताहरूले यसपल्ट राजुविरुद्ध आक्रोश पोख्न थालेका छन्। शनिवार राति क्षेत्रमा बालुवा–ढुङ्गा सेण्डिकेटको नियन्त्रण कसको हातमा रहने भन्ने विषयमा तृणमूलका गुटहरूबीच झड़पले स्थिति तनाउग्रस्त बन्यो।
राजुको विरोधी समूह भनेर चिनिने ज्योतिष बर्मनको पसलमा आगजनी गरिएको आरोप राजुको समर्थकहरूमाथि लागेको छ। त्यसपछि राजु र तिनका समर्थकमाथि ज्योतिष तथा तिनको समूहले आक्रमण गरेको आरोप पनि छ। घटनापछि आइतवार दिनभरि क्षेत्रमा तनाउपूर्ण अवस्था कायम रह्यो। दुवै पक्षले एनजेपी थानामा उजुरी दर्ता गरेका छन्। आइतवार राति राजुसहित पाँचजनालाई पुलिसले पक्राउ गर्योर। सोमवार पक्राउ परेकाहरूलाई जलपाइगढ़ी न्यायालयमा उपस्थित गराउन लैजाँदै गर्दा जेल भ्यानबाट राजुले चिच्याउँदै भने, मेरो बुबाको जमीन बेचेर आएको पैसाले मैले घर बनाएको हुँ। यसमा पञ्चायत कारोबारसित कुनै सम्बन्ध छैन। ज्योतिषले नै क्षेत्रमा बालुवा आपूर्तिको सेण्डिकेट चलाउँछ। हामीलाई कुटपिट गरेपछि आफैले आफ्नो पसलमा आगो लगाएर हामीलाई फँसाएको हो।
त्यसको प्रत्युत्तरमा ज्योतिषले पनि राजुविरुद्ध आक्रोश व्यक्त गरे। तिनले भने, क्षेत्रको सरकारी जमीनमा राजु र तिनका समर्थकहरू बसोवास गरिरहेका छन्। घटनामा तृणमूलका अन्य धेरै पनि संलग्न छन्। बालुवा–ढुङ्गाको व्यवसाय हाम्रो पारिवारिक व्यवसाय हो। तर राजु पञ्चायतमा निर्वाचित भएदेखि नै क्षेत्रका सबै ठेक्कापट्टा आफूले गर्ने भन्दै आदेश जारी गरेका छन्। तिनले धेरैको व्यवसाय बन्द गराएका छन्।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *