पूर्व केएलओ लिङ्कम्यानलाई रोजगार प्रदान गर्नुपर्ने र स्थायी पुनर्वाससहित तीन सूत्रीय माग राख्दै आज जलपाइगढ़ी अनि कूचबिहार जिल्लाका लिङ्कम्यानहरूले उत्तर कन्या अभियान सम्पन्न गरे। तर सचिवालय पुग्नअघि नै सिलगढ़ीनजिक फूलबारीको चुनाभट्टी मोड़मा पुलिसले प्रदर्शनकारीहरूलाई रोकेपछि क्षेत्रमा व्यापक तनाउ फैलियो।
स्थिति नियन्त्रणमा राख्न पुलिस प्रशासनले पहिलेदेखि नै कठोर सुरक्षा व्यवस्था गरेको थियो। चुनाभट्टी क्षेत्रलाई छाउनीमा परिणत गरिएको थियो। घटनास्थलमा धेरै सङ्ख्यामा पुलिस बल तथा र्या्पिड एक्सन फोर्स तैनाथ गरिएको थियो। प्रदर्शनकारीहरूलाई रोक्न सड़कमा बलियो ब्यारिकेड लगाइएको थियो। कुनै पनि हिंसात्मक अवस्थासित जुझअन वाटर केनन र दङ्गा नियन्त्रण वाहन तयारी अवस्थामा राखिएको थियो।
पुलिसले विशाल जुलूसलाई चुनाभट्टी मोड़मा रोकेपछि अगाड़ि बढ्न नसकेका प्रदर्शनकारीहरू त्यहीँ सड़कमा बसे। तिनीहरूले आफ्ना मागहरूको समर्थनमा चर्को नाराबाजी गर्दै सड़क अवरुद्ध गरे। आन्दोलनकारीहरूले पूर्व केएलओ अनि लिङ्कम्यानहरूका लागि तत्काल सरकारी वा अन्य सम्मानजनक रोजगारको व्यवस्था, आत्मसमर्पण गरेका तथा पूर्व लिङ्कम्यानहरूका लागि स्थायी पुनर्वास प्याकेज, क्षेत्रको विकास तथा तिनीहरूको हित संरक्षणका लागि स्वायत्त परिषद गठनको सरकारसमक्ष मागहरू राखेका छन्। आन्दोलनकारीहरूको भनाइ अनुसार सरकारले यसअघि गरेका प्रतिबद्धताहरू अहिलेसम्म पूरा भएका छैन। मागहरू पूरा नभएसम्म सङ्घर्ष जारी रहने तिनीहरूको चेताउनी छ।
पूर्व केएलओ लिङ्कम्यानको उत्तर कन्या अभियान

