Breaking
Fri. Mar 6th, 2026

अब इण्डोर स्टेडियममा वर्षभरि खेल हुने

सिलगढ़ी इण्डोर स्टेडियम वर्षभरि खेलका लागि खुल्ला गरिएको छ। सोमवार साँझ सिलगढ़ी नगर निगमको टेबल टेनिस एकाडेमी उद्घाटनसितै देशबन्धु चित्तरञ्जन इण्डोर स्टेडियममा वर्षभरि खेल आयोजना गर्ने पहल आरम्भ भयो। उद्घाटन कार्यक्रममा सिलगढ़ीका मेयर गौतम देवले अब यस स्टेडियममा केवल खेल गतिविधि मात्र सञ्चालन हुने बताए। विवाह वा अन्य कुनै कार्यक्रमका लागि इण्डोर स्टेडियम प्रयोग गरिने छैन। टेबल टेनिसको शहरका रूपमा परिचित सिलगढ़ीबाट पुनः राष्ट्रिय च्याम्पियन तयार पार्ने आशासहित टेबल टेनिसको विकासका लागि पहल गरिएको तिनले बताए। एकाडेमी सञ्चालनमा आएपछि यहाँ आधुनिक मल्टिजिम स्थापना गरिनेछ। एक वर्षभित्र यहाँ सेण्टर फर एक्सिलेन्सी स्थापना गर्ने लक्ष्य रहेको पनि तिनले उल्लेख गरे।
सिलगढ़ी नगर निगमले निरन्तर रूपमा खेलकुदको विकासका लागि काम गरिरहेको छ। फूटबल र चेसपछि आज टेबल टेनिस एकाडेमी आरम्भ गरिएको हो। साथै पछिल्ला दुई वर्षदेखि आउटडोर र इण्डोर खेलका विभिन्न इभेण्टमा मेयर कप प्रतियोगिता आयोजना हुँदै आएको छ। नगर निगमका सूत्रअनुसार हप्तामा तीन दिन नयाँ खेलाड़ीलाई प्रशिक्षण दिइनेछ भने बाँकी चार दिन र्याकङ्किङ खेलाड़ीहरूको अभ्यासका लागि छुट्याइनेछ। स्थानीय प्रतिष्ठित प्रशिक्षक अमित दाम, मान्तु घोष, सुव्रत राय, असिताभ दत्त, कस्तुरी चक्रवर्ती, अमलेन्दु राहा, बिरुपाक्ष साहा लगायत अन्य धेरैले यहाँ हप्तामा एक दिन प्रशिक्षण दिनेछन्। नयाँ खेलाड़ीबाट मासिक 300 रुपियाँ र र्यायङ्किङ खेलाड़ीबाट मासिक 500 रुपियाँ शुल्क लिइनेछ।
राष्ट्रिय टेबल टेनिस प्रशिक्षक सुव्रत रायले अहिले अधिकांश स्थानमा इण्डोर स्टेडियममा प्रतिस्पर्धात्मक टेबल टेनिस प्रतियोगिता सञ्चालन भइरहेको बताए। सबै राज्यमा त्यहाँका खेलाड़ीहरूले इण्डोर स्टेडियममै अभ्यास गर्ने सुविधा पाइरहेका छन्। तर सिलगढ़ीमा अहिलेसम्म क्लब घरमा अभ्यास गर्नुपर्ने अवस्था रहेको छ। यसकारण इण्डोर स्टेडियममा हुने प्रतियोगितामा अनुकूल हुन कठिनाइ आउने र कमजोर प्रतिद्वन्द्वीसित पनि हार्नुपर्ने अवस्था आएको तिनले बताए। नगर निगमको पहलमा अब सिलगढ़ीका खेलाड़ीहरूले इण्डोर स्टेडियममै अभ्यास गर्ने अवसर पाउनेछन्। यसबाट यहाँको टेबल टेनिस पुनः उकासिने आशा गरिएको छ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *