Breaking
Fri. Mar 6th, 2026

वर्षमा 8.5 हजार करोड़को चिया निर्यात

गत एक वर्ष भारतबाट विश्वका विभिन्न देशहरूमा लगभग 8.5 हजार करोड़ रुपियाँ बराबरको चिया निर्यात भएको छ। यो पछिल्ला केही वर्षको रेकर्ड हो। सन् 2025 को जनवरीदेखि दिसम्बरसम्म मोठ 280.4 मिलियन किलोग्राम अर्थात् 28 करोड़ किलोग्राम चिया निर्यात गरिएको छ। निर्यात गरिएको उक्त चियाको मूल्य 8 हजार 488 करोड़ 43 लाख रुपियाँ रहेको छ। सन् 2024 मा भारतबाट चिया निर्यातको परिमाण 256.17 मिलियन किलोग्राम अर्थात् 25 करोड़ किलोग्राम थियो। त्यसको आर्थिक मूल्य 7 हजार 167 करोड़ 41 लाख रुपियाँ थियो। अर्थात् 2024 को तुलनामा चिया निर्यातको परिमाण उल्लेखनीय रूपमा बढ़ेको छ।
यसकारण भविष्यमा राम्रो दिन फर्कने आशामा उत्तर बङ्गालको चिया उद्योग क्षेत्र उत्साहित भएको छ। तिनीहरूको भनाइमा निर्यात बढ्नु भनेको चियाको बजार राम्रो हुनु हो। 28 करोड़ किलोग्राम चिया निर्यात हुनु सामान्य होइन। साथै यसपल्ट भारतले युरोपियन युनियनसित मुक्त व्यापार सम्झौता गरेको छ। फलस्वरूप अबदेखि युरोपका देशहरूमा प्रत्यक्ष रूपमा चिया पठाउन सकिनेछ। त्यस्तै अमेरिकासित नयाँ व्यापार सम्झौतामा हस्ताक्षर हुन लागेको छ। यस सन्दर्भमा चियालाई शून्य ट्यारिफ अर्थात् भन्सारमुक्त राखिएको छ। यसकारण अमेरिकी बजारमा धेरै परिमाणमा चिया निर्यात हुने अपेक्षा गरिएको छ। समग्रमा आगामी दिन चियाको बजार सशक्त हुने विश्वास गरिएको छ। इण्डियन टी प्लाण्टर्स एसोसिएशनका मुख्य सल्लाहकार अमितांशु चक्रवर्तीले भने, चिया निर्यातको तथ्याङ्क उत्साहजनक छ। यो प्रवृत्ति कायम रहे आगामी दिन चिया उद्योगले पुनः उभिन सक्नेछ।
कन्फेडेरेशन अफ इण्डियन स्मल टी ग्रोअर्स एसोसिएशन (सिस्टा) का अध्यक्ष विजयगोपाल चक्रवर्तीले भने, विश्वभरि भारतीय चियाको माग बढ़िरहेको कुरा निर्यातको तथ्याङ्कले स्पष्ट देखाएको छ। सन् 2025 मा देशमा 1369 मिलियन किलोग्राम अर्थात् लगभग 137 करोड़ किलोग्राम चिया उत्पादन भएको छ। यसमध्ये विदेशमा लगभग 28 करोड़ किलोग्राम चिया निर्यात गरिएको छ। यो रेकर्ड हो। तिनीअनुसार, हाम्रो देशमा उत्पादित अर्थोडक्स चियासितै ब्ल्याक टीको माग चीनमा बढ़िरहेको छ। त्यसैले त्यहाँ अझ बढ़ी परिमाणमा चिया निर्यात गर्न सकियोस् भन्ने लक्ष्यसहित छिट्टै हाम्रो देशका निर्यात प्रतिनिधिहरू चीन जानेछन्। यसअघि विदेश निर्यातका क्रममा अर्थोडक्स चियाको माग सबैभन्दा बढ़ी थियो। तर निर्यातको क्षेत्रमा अर्थोडक्स चियासितै सिटिसी पनि प्रतिस्पर्धामा उत्रिएको अहिले देखिएको छ। गत एक वर्षको तथ्याङ्कअनुसार सिटिसी चिया 127 मिलियन किलोग्राम अर्थात् 12 करोड़ किलोग्राम निर्यात भएको छ। त्यस्तै निर्यात गरिएको अर्थोडक्स चियाको परिमाण 128.47 मिलियन किलोग्राम रहेको छ। यो सिटिसीभन्दा केही अधिक हो।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *