Breaking
Fri. Mar 6th, 2026

मुम्बईगामी रेलबाट दुई विद्यार्थी उद्धार

कोचबिहारको एक आवासीय शैक्षिक संस्थानबाट भागेका दसौँ कक्षाका दुई विद्यार्थीबारे पत्तो लागेको छ। बिहीवार दिउँसो महाराष्ट्रको मानमाड रेल स्टेशनबाट तिनीहरूलाई उद्धार गरिएको हो। मुम्बईगामी रेलको आरक्षित डब्बाबाट आरपीएफले तिनीहरूलाई उद्धार गरेको हो। विद्यार्थीहरूबाट आरक्षित सिटको टिकट फेला पारिएको छ। सोही रेलमा यात्रा गरिरहेका कोचबिहारका एकजना यात्रीले सामाजिक सञ्जालमार्फत दुई विद्यार्थी भागेका विषयमा जानकारी पाए। त्यसपछि रेलमा तिनीहरूलाई देखेर चिन्हित गर्दै रेल्वे पुलिसको ध्यानाकर्षण गराए। त्यसपछि कोचबिहारमा खबर पुग्यो।
शुक्रवार कोचबिहारबाट पुलिस टोली, दुवै विद्यार्थीका अभिभावक तथा उक्त आवासीय शैक्षिक संस्थानका अधिकारीहरू तिनीहरूलाई फर्काएर ल्याउन महाराष्ट्र जाँदैछन्। दुई विद्यार्थी उद्धार भए पनि सम्पूर्ण घटनाबारे विभिन्न प्रश्न उठिरहेका छन्। पढ़ाई गरेर केही हुँदैन, अब काम गर्नुपर्छ। त्यसैले जाँदैछौँ भनी आमा बाबाका नाममा पत्र लेखेर दसौँ कक्षाका ती दुई विद्यार्थी मङ्गलवार बिहानदेखि बेपत्ता बनेका थिए। होस्टेलबाट भाग्ने घटना नयाँ होइन तर पढ़ाई गरेर लाभ छैन भन्दै पत्र लेखेर बेपत्ता हुने घटना भने पहिले नसुनिएको। त्यसकारण विषयले हलचल आरम्भ भएको छ।
उक्त आवासीय शैक्षिक संस्थानका प्रधानाचार्य हारुन रशिदले भने, दुवै विद्यार्थीहरूको पत्तो लागेको छ। कोचबिहारको देवानहाटका एक परिवार क्यान्सर उपचारका लागि मुम्बई जाँदै थिए। तिनीहरूले नै फोन गरेर विषय जानकारी दिएका हुन्। तिनीहरूअनुसार, यसको पछाड़ि सम्भवतः अरू पनि कोही संलग्न हुन सक्छन्। नत्र आरक्षण टिकट तिनीहरूले कहाँबाट पाउँथे! बेपत्ता विद्यार्थीमध्ये एकका बाबाले भने, न्यु कोचबिहार स्टेशनबाट तिनीहरू रेलमा चढ़ेका थिए। महाराष्ट्रको आरपीएफले तिनीहरूलाई उद्धार गरी नासिक पुलिस थानामा जिम्मा लगाएको छ। हामी मुम्बईतर्फ प्रस्थान गर्दैछौँ। कोतवाली थानाका एकजना अधिकारीले जनाएअनुसार तिनीहरूको तीन सदस्यीय टोली पनि महाराष्ट्र जाँदैछ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *