Breaking
Fri. Mar 6th, 2026

बक्सा बाघ परियोजनाको जङ्गलमा बाघको पाइला

बक्सा बाघ परियोजनाको जङ्गलमा तृणभोजी र मांसाहारी जनावरहरूको गणना कार्य आरम्भ भएको छ। यही गणनाका क्रममा बाघको पाइलाको छाप पनि फेला परेको छ। यसअघि बक्सामा ट्र्याप क्यामेरामा रोयल बेङ्गल टाइगरको तस्वीर कैद भएको थियो। ट्र्याप क्यामेरामा बाघको तस्वीर देखिएपछि बक्सा बाघ परियोजनाका अधिकारीदेखि वनकर्मीहरू सबै उत्साहित भएका थिए। नेउरा भ्याली राष्ट्रिय निकुञ्जपछि बक्सा बाघ परियोजनाको जङ्गलमा पनि बाघको तस्वीर कैद भएको थियो। यस बाघ परियोजनामा सन् 1998 पछि सन् 2021 मा अनि सबैभन्दा पछिल्लोपल्ट सन् 2023 मा ट्र्याप क्यामेरामा बाघको तस्वीर कैद भएको थियो। त्यसपछि फेरि दुई वर्षपछि बक्सामा रोयल बेङ्गल टाइगरको तस्वीर देखिएको थियो। यसपल्ट बाघको पाइलाको छाप पनि फेला परेको छ।
सोमवार बिहानदेखि नै बक्सा टाइगर रिजर्भको घना जङ्गलमा चहलपहल आरम्भ भयो। निर्धारण गरिएका मार्गमा वनकर्मीहरू पङ्क्तिबद्ध रूपमा हिँड़िरहेका छन्। जङ्गलभित्र लुकेर रहेका वन्य-जनावरहरूको उपस्थितिको सङ्केत खोजी गर्नु सबैको एउटै लक्ष्य छ। बक्सा बाघ परियोजनाको जङ्गलमा अल इण्डिया टाइगर इस्टिमेशन 2025–26 को कार्य आरम्भ भएको छ।
देशभरि जस्तै बक्सा टाइगर रिजर्भमा पनि प्रत्येक चार वर्षमा एकपल्ट यो सर्वेक्षण गरिन्छ। लगातार 6 दिनसम्म तृणभोजी जनावरको गणना र मांसाहारी जनावरका चिन्हहरूको सर्वेक्षण सञ्चालन हुनेछ। जङ्गलभित्र जम्मा 80 वटा क्षेत्र पहिचान गरिएको छ जहाँ वनकर्मीहरूले हिँड्दै बाघसहित विभिन्न वन्यजनावरका पाइलाका छाप तथा अन्य चिन्हहरू सङ्कलन र अभिलेख गरिरहेका छन्। वन विभाग सूत्रअनुसार यस ठूलो सर्वेक्षणमा 200 भन्दा अधिक वनकर्मीहरू सहभागी छन्। आधुनिक प्रविधिको सहयोगमा सबै विवरण मोबाइलको एम–स्ट्राइप्स इकोलोजी एपमा रेकर्ड गरिँदैछ। माटोमा देखिने चिन्ह मात्र होइन जङ्गलभित्र पहिले नै जड़ान गरिएका 250 भन्दा अधिक ट्र्याप क्यामेरा पनि यस बाघ गणनाको महत्त्वपूर्ण हिस्सा हुन्। ती क्यामेरामा कैद भएका तस्वीरहरूको विश्लेषणबाट बक्सा जङ्गलमा बाघसहित अन्य वन्यजनावरहरूको वास्तविक उपस्थितिबारे जानकारी प्राप्त हुनेछ। सर्वेक्षणमा संलग्न वनकर्मीहरूको नजरमा एउटा बाघको ताजा पाइलाको छाप परेको छ। घना जङ्गलमा देखिएको यस चिन्हले बक्सा जङ्गलमा अझै पनि रोयल बेङ्गल टाइगर रहिरहेको सङ्केत दिएको छ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *