Breaking
Fri. Mar 6th, 2026

टिकट दिए चुनाउ लड्ने राजेन मुखिया

भारतीय जनता पार्टीले सक्षम सम्झेर टिकट दिए यसपालि विधानसभा चुनाउमा उम्मेद्वारको रूपमा चुनाउ लड्ने भाजपा दार्जीलिङका उपाध्यक्ष राजेन मुखियाले मन्तव्य गरेका छन्। आज मिरिकमा पार्टी कार्यालय उद्घाटन गरेपछि पत्रकारहरूसित कुराकानी गर्ने क्रममा तिनले यस्तो मन्तव्य दिएका हुन्। हाल विभिन्न सोशियल मिडिया प्लेटफर्महरूमा आफूलाई भाजपाले खरसाङ विधानसभा क्षेत्रको उमेद्वार बनाउने अड़कलबाजी चल्दै आइरहेको विषयमा बोल्दै तिनले त्यसबारे हालसम्म कुनै प्रतिक्रिया व्यक्त गरेका थिएनन्। तथापि टिकट दिए खरसाङ विधानसभा क्षेत्रबाट आफू चुनाउ लड्न तयार रहेको तिनले बताए।
यता टिकट नदिए पनि एक कर्मठ पार्टी कार्यकर्ताको रूपमा चुनाउमा सक्रिय रहने पनि तिनले बताएका छन्। यसपालि पश्चिम बङ्गालमा भाजपाको सरकार बन्ने दाबी गर्दै तिनले डबल इञ्जिनको सरकार भएपछि गोर्खाहरूको समस्याको समाधान हुने बताए। चुनाउअघि एसआईआर कार्य भइरहेको कारण गोर्खाहरूको मुद्दालाई हाल सम्बोधन गर्न नसके पनि चुनाउपछि अवश्य नै गोर्खाहरूले न्याय पाउने तिनले बताए। त्यससितै मुखियाले भाजपाले गोर्खाहरूको मुद्दामाथि काम गरिरहेको पनि बताए। चुनाउमा भाजपाले अन्य गठबन्धनका दलहरूलाई पनि साथमा राखेर चुनाउ लड्ने बताउँदै कतिपयले भाजपाले क्षेत्रीय पार्टीहरूको अस्तित्व सङ्कटमा पार्ने बताइरहेको भए पनि त्यो विपक्षीको राजनैतिक बयान मात्र रहेको तिनले जनाए।
आज मिरिकको कृष्णनगरमा भाजपाको पार्टी कार्यालय उद्घाटनको क्रममा दार्जीलिङ भाजपाका उपाध्यक्ष राजेन मुखियासितै भाजपा मिरिक मण्डलका अध्यक्ष अमर राणा, सियोक गोपाल धारा मण्डल अध्यक्ष अमित छेत्री, भाजपा जिल्ला सह-सचिव एम. के. जिम्बा, मिरिक पञ्चायत समिति सदस्यद्वय रजिना घले अनि लिली तामाङ लगायत विभिन्न बूथ कमिटीका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *