राज्यमै फेरि एकजना बीएलओ को मृत्यु भएको छ। बुधवार सखारै बिहान घर पछिल्तिर झुण्डिएको अवस्थामा बीएलओको शव भेटिएको थियो। तुरन्तै अस्पताल लैजाँदा पनि बचाउन सकिएन। मृत महिला बीएलओको नाम शान्तिमनि एक्का (48) हो। यस घटनाले जलपाइगढ़ी जिल्लाको मालबजार क्षेत्रलाई स्तब्ध बनाएको छ। जलपाइगढ़ी जिल्लाको मालबजार थानाअन्तर्गत राङामाटी ग्राम पञ्चायतको न्यू ग्ल्याङ्को चियाबारी क्षेत्रकी वासिन्दा थिइन् शान्तिमनि एक्का। पेशाले तिनी आँगनबाड़ी कर्मी थिइन्। एसआईआर सम्बन्धी काम गर्नुपर्ने हुँदा तिनी निरन्तर समस्यामा पर्दै आएको परिवारको दाबी छ।
तिनका छोरा डी सुजा एक्का र लोग्ने सुखु एक्काअनुसार शान्तिमनिले कामको अत्यधिक दबाउ सहन सकिरहेकी थिइनन्। तिनी राम्ररी बङ्गाली पढ्न वा लेख्न सक्तिन थिइन्। त्यसो हुँदा एसआईआरको अत्यधिक कामले थप तनाउ दिएको परिवारको भनाइ छ। बीचमै शान्तिमनिले मालबजार ब्लकका संयुक्त बीडीओसमक्ष गएर आफूलाई यस कामबाट मुक्त गरिदिने अनुरोध गरेकी पनि परिवारको भनाइ छ। तर अधिकारीहरूले त्यो आग्रह स्वीकारे नगरेका परिवारको आरोप छ।
त्यसै दिन मृत बीएलओको परिवारसित भेट गर्न बिहानै आदिवासी कल्याण विभागका मन्त्री तथा मालबजार विधानसभा क्षेत्रका विधायक बुलु चिकबराइक घर पुगे। बुलु चिकबराइकले भने, एसआईआरको आतङ्कले धेरै मानिसहरूले आत्महत्या गरिसकेका छन्। कामको चापको कारण आज एक बीएलओले आत्महत्या गर्नुपर्योए। एउटा परिवार पूर्ण रूपमा नष्ट भयो। यसको जिम्मावारी चुनाउ आयोगले लिनुपर्छ। आज नै मालबजारका बीडीओ रश्मिदीप्त विश्वास पनि शोकाकुल परिवारलाई भेट्न पुगे। तर तिनले सञ्चारमाध्यमसमक्ष केही बोल्न चाहेनन्।
उल्लेखनीय छ, केही दिनअघि मात्र पूर्व बर्धमानमा ब्रेन स्ट्रोक भएर बीएलओ नमिता हाँसदाको मृत्यु भएको थियो। तिनी मेमारीको चक बलरामपुर 278 नम्बर बूथकी बीएलओ थिइन्। तिनलाई कालना महकुमा अस्पताल लगिए पनि बचाउन सकिएन।
बीएलओद्वारा आत्महत्या

