परेड ग्राउण्डबारे विवाद चुलिएको छ। केही महीनाअघि प्रधानमन्त्री नरेन्द्र मोदीले अलिपुरद्वारको ऐतिहासिक परेड ग्राउण्ड़मा सभा गरेका थिए। सभापछि मैदानको दयनीय अवस्थामाथि राजनीतिक तथा नागरिक समाजमा तीव्र विवादको स्थिति बनेको थियो। त्यस समयमा हरियाली नष्ट गरेर पेभर ब्लकको बाटो निर्माण गरिएको र मैदान गहिरा खाल्डोहरूले भरिएको कारण व्यापक आलोचना भएको थियो। यसपल्ट परेड ग्राउण्डलाई कङ्क्रिटको फेन्सिङ लगाएर दुई भागमा विभाजन गरी खेल मैदान बनाउने काम जिल्ला प्रशासनले आरम्भ गरेको छ। यसका लागि हाल खनन कार्य चलिरहेको छ। यसै विषयमा नागरिक सङ्गठनले कठोर आपत्ति जनाएको छ।
नागरिक मञ्च पीपल्स फर परेड ग्राउण्डले यसबारे न्यायालय जाने चेताउनी दिएको छ। मञ्चका सदस्य सुमन गोस्वामीले भने, परेड ग्राउण्डको विनाश धेरै पहिले नै आरम्भ भइसकेको हो। कङ्क्रिट नहटाई फेरि घेराबन्दी गरिँदैछ। के चलिरहेको छ भनेर हामीलाई केही थाहा छैन। यो मैदान सामाजिक सम्पत्ति हो। हामी कलकत्ता उच्च न्यायालय जानेछौँ। जनहित याचिका दर्ता गरिनेछ। यस विषयमा अलिपुरद्वारका विधायक सुमन काञ्जीलालले भने, परेड ग्राउण्डलाई कङ्क्रिटले बेह्रेर नष्ट गर्न मिल्दैन। यहाँको हरियाली जोगाएर नै खेलकुद पनि होस्।
प्रधानमन्त्रीको सभापछि बनेको अवस्थाबारे प्रश्न उठ्दा जिल्ला भाजपा नेतृत्व ठूलो असहज स्थितिमा परेको थियो। तर यसपल्ट भाजपा फ्रण्टफुटमा देखिएको छ। मङ्गलवार यस विषयमा जिल्ला शासकलाई ज्ञापन दिन जाँदा भाजपा नेता–कार्यकर्ताहरूलाई रोकिएको आरोप छ। डुवर्स कन्यास्थित जिल्ला शासकको कार्यालयमा प्रवेश गर्न नदिइएको तिनीहरूको आरोप छ। ज्ञापन बुझाउन नपाएपछि कार्यकर्ताहरू गेटअघि नै बसेर धर्ना दिए। झण्डै एक घण्टा तिनीहरूले आन्दोलन जारी राखे।
परेड ग्राउण्डको फेन्सिङबारे विवाद

