Breaking
Fri. Mar 6th, 2026

शरीरबारेको बुझाइमा ऐतिहासिक प्रगति

मानव शरीरबारे बुझाइमा एक ठूलो वैज्ञानिक प्रगति भएको छ। नेदरल्याण्ड्स क्यान्सर इन्स्टिच्युट का अनुसन्धानकर्ताहरूले मानिसको घाँटीमा लुकेर रहेको नयाँ प्रकारको थुक ग्रन्थी (salivary gland) पत्ता लगाएका छन्, जुन अहिलेसम्म वैज्ञानिक रूपमा चिनिएको थिएन। यस नयाँ ग्रन्थीलाई नाम दिइएको छ – ‘ट्युबेरियल स्यालिभरी ग्ल्याण्ड’।

शोधकर्ताहरूले यो खोज प्रोस्टेट क्यान्सर सम्बन्धी अनुसन्धानका क्रममा संयोगवश पत्ता लगाएका हुन्। विस्तृत परीक्षणबाट थाहा भयो कि यी ग्रन्थीहरू नाकको पछाडिपट्टि र घाँटीको माथिल्लो भाग (नासोफ्यारेन्ज क्षेत्र) मा अवस्थित छन्।

कम्तीमा १०० जना बिरामीको शरीरमा परीक्षण गरी वैज्ञानिकहरूले यो ग्रन्थीको अस्तित्व प्रमाणित गरेका छन्। चिकित्साविज्ञका अनुसार यो खोज रेडिएशन थेरापी जस्ता क्यान्सर उपचारको सन्दर्भमा विशेष महत्त्वपूर्ण छ।

सामान्यतया, रेडिएशन थेरापीको क्रममा बिरामीको मुख र घाँटीका मुख्य थुक ग्रन्थीहरूलाई सुरक्षित राखिन्छ, ताकि अत्यधिक सुक्खापन नहोस् र खाने वा बोल्नमा असहजता नआओस्। तर यो नयाँ ग्रन्थीको बारेमा जानकारी नभएकाले अघिल्लो उपचारहरूमा यिनीहरू नोक्सानमा पर्थे, जसको कारण बिरामीहरूमा विभिन्न साइड इफेक्टहरू देखा पर्थे।

अब, जब यो ‘गुप्त’ ग्रन्थीको अस्तित्व पुष्टि भइसकेको छ, चिकित्सकहरूले रेडिएशन थेरापीको योजनामा यसलाई सुरक्षित राख्ने रणनीति अपनाउन सक्छन्, जसले गर्दा बिरामीहरूले कम साइड इफेक्ट भोग्नु पर्नेछ।

विशेषज्ञहरू भन्छन् कि यो खोज सिर्फ शरीर संरचनाको अध्ययनमा मात्र होइन, क्यान्सर उपचार पद्धतिमा पनि क्रान्तिकारी परिवर्तन ल्याउनसक्ने सम्भावना बोकेको छ। हाल यो ग्रन्थीको कार्य र अन्य प्रभावबारे थप अनुसन्धान जारी छ।

यो घटनाले फेरि एक पटक देखाएको छ कि मानव शरीर अझै पूर्ण रूपमा बुझिएको छैन। जति गहिरो अनुसन्धान हुन्छ, उति नै नयाँ जानकारीहरू निस्किँदै जान्छन्, जसले चिकित्सा विज्ञानलाई अझ समृद्ध बनाउँदै लगेको छ।

By editor

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *