रोगी सेवा प्रायः ठप्प जस्तै छ। जस्तोसुकै सेवा पाइरहेको भए पनि रोगीहरूले आफ्नो खल्तीबाट पैसा खर्च गर्नु परिरहेको छ। यस्तो अवस्था उत्तर बङ्गाल डेण्टल कलेज तथा अस्पतालमा देखिएको हो। यहाँ दलालहरूको चक्र सक्रिय छ। यसकारण रोगीहरूले निःशुल्क राम्रो उपचार पाउने आशा छोड़िसकेका छन्। स्वास्थ्य विभागको निगरानीको अभावमै उत्तर बङ्गालको एक मात्र सरकारी डेण्टल कलेज भ्रष्टाचारको अखड़ा बनेको आरोप छ। सिनियर चिकित्सकहरू पनि आफ्नै इच्छाअनुसार मनपरी आउँछन्-जान्छन्। यी सबै नियाल्ने कोही छैन। प्राचार्य डा. सञ्जय दत्तले भने सबै आरोप अस्वीकार गरेका छन्। तिनको भनाइमा रोगीहरू कतै ठगिएका छन् वा कसैले पैसा मागेको छ भने उजुरी गर्नुपर्छ। तर आफूहरूसमक्ष आजसम्म कुनै रोगीले उजुरी दिएका छैनन्। ठोस उजुरी आए कारवाही गरिने तिनले बताए।
उत्तर बङ्गाल डेण्टल कलेज तथा अस्पतालमा दैनिक धेरै मानिसहरू उपचारका लागि आउँछन्। यहाँ सबै पूर्वाधार भए पनि सही रूपले उपचार नहुने गुनासो छ। डाक्टरलाई देखाएपछि एक्स-रे वा अन्य परीक्षण आवश्यक परे रोगीलाई 20-25 दिनपछि मिति दिइन्छ। अस्पताल सूत्रअनुसार यहाँ आउने रोगीहरूको दैनिक एक्स-रे लगायत सबै परीक्षण त्यसै दिन गर्न सकिने सम्भावना छ। तर अज्ञात कारणले रोगीहरूलाई धेरै दिन अल्झाइन्छ। त्यसै स्थितिको दलालहरूको समूहले लाभ लिइरहेको छ। पीड़ितहरूको दाबीअनुसार पैसा दिइए डाक्टर देखाउनु अनि एक्स-रे सेवा तुरुन्तै पाइन्छ। 20-25५ दिन कुर्नुपर्दैन, परीक्षण एक सातामै गराइदिन्छन्।
त्यससितै रगत परीक्षणको मामिलामा पनि रोगीहरू हैरान छन्। दाँत सम्बन्धी विभिन्न उपचारका लागि रोगीको रगत परीक्षण रिपोर्ट आवश्यक हुन्छ। चिकित्सकले परीक्षणको सिफारिस गरेपछि रोगीलाई उत्तर बङ्गाल मेडिकल कलेज तथा अस्पतालको सेण्ट्रल ल्याबोरेटोरीमा जानुपर्छ। त्यहाँ पहिले नै भीड़ हुने भएकाले डेण्टल कलेजबाट रोगी पुगे पनि रगत परीक्षण गराउन धेरै दिन समय नष्ट हुन्छ। त्यसैको मौका दलालहरूले पनि लिइरहेका छन्।आरोपअनुसार चिकित्सकले रगत परीक्षण लेखेपछि चौथो श्रेणीको एक कर्मचारीले रोगीलाई फकाउन थाल्छन्। उत्तर बङ्गाल मेडिकलमा रगत परीक्षण गराउन गए धेरै हैरानी हुने तिनी बताउँछन्। लामो लाइनमा उभिनु पर्ने बताइन्छ। त्यसकारण बाहिरैको ल्याबमा परीक्षण गराउने साथै सस्तोमै भइहाल्ने सुझाउ दिइन्छ। त्यसरी रोगीलाई डेण्टल कलेजनजिकैको ल्याबोरेटोरीमा लगिन्छ। अस्पतालका भित्री मानिसहरू संलग्न नभई यस्तो कारोबार चल्न नसक्ने धेरैको धारणा छ।
डेण्टल कलेजमा भ्रष्टाचारको आरोप

