Breaking
Sat. Mar 7th, 2026

34 किशोरीहरू उद्धार, तीन एजेण्ट पक्राउ

ठ्याक्कै 7 दिनपछि फेरि एउटै घटना सिलगढ़ीमा पुनः दोहोरिएको छ। फेरि रोजगार दिने प्रलोभनमा किशोरीहरूलाई तस्करी गर्न खोजिएको आरोप छ। बितेको 21 जुलाई तारिख बेलुका एनजेपी स्टेशनबाट 56 जना किशोरीहरूलाई उद्धार गरिएको थियो। यसपल्ट सिलगढ़ी जङ्क्सन क्षेत्रबाट तस्करीको प्रयास विफल पार्दै प्रधाननगर थानाको पुलिसले 34 जना किशोरीहरूलाई उद्धार गरेको छ। ती किशोरीहरूलाई रोजगार दिने प्रलोभन देखाई जङ्क्सनबाट राँची लैजान बस रिजर्भ गरिएको थियो। उद्धार गरिएका किशोरीहरू प्रायः नागरकट्टा, मटेली र अलिपुरद्वारका चियाबारी क्षेत्रका वासिन्दा हुन्। यसै क्रममा तीनजनालाई पुलिसले पक्राउ गरेको छ। तस्करीको सञ्चालनको शैली हालसालै जीआरपीले उद्धार गरेका किशोरीहरूको घटनासित निकै मेल खान्छ। त्यसैले ती एजेण्टहरूको सम्बन्ध सोही गिरोहसित छ कि छैन भनेर पनि पुलिसले जाँच गरिरहेको छ।पक्राउ परेकामध्ये पेत्रास बेग मटेलीको जुरन्ती चियाबारीका वासिन्दा हुन्। बाँकी दुईजनामध्ये गौतम राई हायदरपाड़ा अनि जयश्री पाल जनता नगरका वासिन्दा हुन्। ती पक्राउ परेकाहरूलाई सोमवार सिलगढ़ी महकुमा न्यायालयमा प्रस्तुत गरिएको छ।
एनजेपीको घटनाजस्तै यसपल्ट पनि ती किशोरीहरूलाई तमिलनाडुमा रोजगारको लोभ देखाइएको थियो। चेन्नईस्थित लुगा उत्पादन कम्पनीमा काम दिलाउने नाममा तिनीहरूलाई लगिँदै थियो। पहिले बस रिजर्भ गरेर राँची लगिनेछ अनि त्यहाँबाट चेन्नई पुर्यारइने भनेर तिनीहरूलाई भनिएको थियो। तर ती तीनजनाले यात्रा वा काम सम्बन्धी कुनै कागजात देखाउन सकेनन्। प्रारम्भिक जाँचपछि ती तीनजना एजेण्टका रूपमा काम गरिरहेका थिए भन्ने पुलिसले अनुमान गरेको छ।
प्राथमिक सोधपुछमा केही व्यक्तिहरूले ती किशोरीहरूलाई सिलाई तालिमसमेत दिएका थिए भनेर पुलिस थाहा पाएको छ। ती व्यक्तिहरूलाई ती तीन एजेण्टले कम्पनीका प्रतिनिधि भनेर चिनाएका थिए। सिलगढ़ी मेट्रोपोलिटन पुलिसका डीसीपी (पश्चिम) विश्वचन्द ठाकुरले भने, किशोरीहरू प्रायः अलिपुरद्वार र जलपाइगढ़ीका चियाबारी क्षेत्रकी हुन् भन्ने जानकारी पाएका छौँ। तिनीहरूसित कुनै प्रकारको कागजपत्र थिएन। रेलमार्फत भइरहेको तस्करी चक्रसित ती एजेण्टहरूको सम्बन्ध छ कि छैन, त्यो पनि जाँच भइरहेको छ।
गत सोमवार पनि कालचिनी, बानरहाट र कोचबिहार क्षेत्रका किशोरीहरूलाई रोजगार दिने नाममा तमिलनाडुको होसुर जिल्लामा लैजाने योजना बनाइएको थियो। एनजेपीको आरपीएफ र सिलगढ़ी जीआरपीले संयुक्त रूपमा क्यापिटल एक्सप्रेस ट्रेनबाट 56 जना किशोरीहरूलाई उद्धार गरेका थिए। जाँचमा एजेण्टको रूपमा पोड़ाझारकी एक महिलाको नाम अगाड़ि आएको थियो। आइतवारको घटनामा पनि सिलगढ़ीका दुईजनाको नाम अगाड़ि आएको छ। उत्तर बङ्गालका विभिन्न चियाबारी क्षेत्रबाट 34 जना किशोरीहरूलाई सिलगढ़ी जङ्क्सनमा ल्याइएको आइतवार बेलुका गोप्य सुत्रबाट पुलिसलाई खबर प्राप्त भयो। त्यहाँबाट राँची जाने बस रिजर्भ गरेर तिनीहरूलाई चढ़ाइएको थियो। त्यसपछि प्रधाननगर थानाको पुलिसले उक्त क्षेत्रमा छापा मार्यो । त्यसपछि बसमा सवार ती तीन एजेण्टलाई सोधपुछ गर्दा तिनीहरूले ती 34 किशोरीहरूलाई रोजगारका लागि चेन्नई लैजाँदै गरिएको बताए। पछि जब तिनीहरूलाई एपोइण्टमेण्ट लेटर र सम्बन्धित कागजात देखाउन भन्दा तिनीहरूको बयानमा विरोधाभास देखियो। त्यसपछि तीनैजनालाई पुलिसले पक्राउ गर्योद। ती किशोरीहरूको परिवारसित सम्पर्क गर्ने कार्य पनि आरम्भ गरिएको छ। राति नै केही परिवारजनहरू प्रधाननगर थाना आइपुगे। एक किशोरीकी आफन्तले भने, ‘चेन्नई लगेर सिलाईको काम गराइने भनेर बताइएको थियो। तर यस्तो अवस्था आइपर्ला भन्ने कल्पना पनि गरेका थिएनौँ।’

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *