Breaking
Fri. Mar 6th, 2026

दुर्लभ हिमालयन स्यालामेण्डर

हिमालयन स्यालामेण्डर (गोरा) संसारको दुर्लभ प्राणीहरूमध्ये एक हो। हिमालयन स्यालामेण्डरबारे धेरै समय अघिदेखि मिरिकमा कार्य गर्दै आइरहेको सामाजिक संस्था नेचर एण्ड इनभाइरमेण्ट प्रोटेक्सन एक्टिभिष्टका संस्थापक अध्यक्ष रमेश गजमेरले विलुप्त भइसकेको डाइनोसोर भन्दा पनि पहिलेको यो जीव रहेको बताए। गजमेरको भनाइमा विनाशको सङ्घारमा रहेको जीव जन्तुहरूको सूची तयार पार्ने अन्तराष्ट्रिय संस्था आईयूसीएनको रेड बुकमा हिमालयन स्यालामेण्डर पनि रहेको छ। त्यसकारण हिमालयन स्यालामेण्डर दुर्लभ प्राणीसितै विलुप्तको सङ्घारमा रहेको पनि तिनले बताए। तिनले विश्वको दुर्लभ प्राणीहरूमध्ये एक हिमालयन स्यालामेण्डर पहाड़को दार्जीलिङ, सुके पोखरी, मिरिक, मार्गेस्टहोप, लाटपञ्चरको सुके पोखरी लगायत भारत नेपालको सीमावर्ती सीमधाप अनि ससाना पोखरीहरूमा पाइने बताए।

गजमेरको भनाइअनुसार मिरिक महकुमाको 26 वटा ठाउँमा हिमालयन स्यालामेण्डको वासस्थान रहेको पनि जानकारी गराए। मिरिकको नखापानी पोखरी, नौ माइल धाप, तुलाधन गैरी धाप, महेन्द्र गाँउको धाप, मिरिक झील परिसरको सीमसारसितै 26 वटा स्थानमा हिमालयन स्यालामेण्डरलाई प्रत्यक्ष देख्न सकिने पनि बताए। पर्यावरण सन्तुलन रहेको बोध गराउने हिमालयन स्यालामेण्डर मार्च महीनादेखि देखिने जानकारी गराँउदै अप्रेल महीनामा यसले वंश विस्तार गर्ने गरेको पनि गजमेरले जनाए।

गजमेरले डाइनोसोर भन्दा करोड़ौ वर्ष अघिको जीव हिमालयन स्यालामेण्डर मिरिक महकुमाको विभिन्न ठाउँमा पाइनु सौभाग्यको विषय बताउँदै यसको उचित संरक्षण नभए यसका अस्तित्व पनि सङ्कटमा पर्न सक्ने बताए। तर तिनले हिमालयन स्यालामेण्डरको उचित संरक्षण नभइरहेको जानकारी गराउँदै रेड पाण्डा, गैँड़ा आदिलाई जस्तै यसको संरक्षणमा सम्बन्धित निकायले चासो देखाउनुपर्ने जनाए। बढ्दो जनसङ्ख्या अनि वन विनाशको कारण कतिपय सिमधापहरू सुक्दै गइरहेका कारण हिमालयन स्यालामेण्डर विलुप्तिको सङ्घारमा रहेको बताउँदै गजमेरले हिमालयन स्यालामेण्डरको संरक्षणमा सरकारले पनि ठोस पहल गर्न आवश्यक रहेको बताए।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *