तापस साहा नामक युवकले बाघपुलबाट हाम फालेर आत्महत्या गरेका खबर प्राप्त भएको छ। पारिवारिक अशान्तिको अन्त्य गर्न युवकले यस्तो मार्ग रोजे। घटना बिहीवार सिलगढ़ीको सेवक क्षेत्रमा भएको हो। पुलिस सूत्रअनुसार घोघोमाली क्षेत्रका वासिन्दा लगभघ 32 वर्षीय तापस साहाले सेवकको बाघपुलबाट हाम फालेर आत्महत्या गरेका हुन्।
तिनी एउटा निजी संस्थामा कार्यरत थिए। थाहा भएको अनुसार, तापस प्रत्येक दिनझैं मोटरसाइकल लिएर घरबाट निस्किए पनि उक्त दिन अफिस नगई सोझै सेवक पुगे। त्यहाँ तिनले एक अपरिचित व्यक्तिको मोबाइल प्रयोग गरी पत्नी पिङ्की दासलाई फोन गरेर अब पारिवारिक अशान्ति सहन गर्न नसक्ने र आत्महत्या गर्ने निर्णय लिएका बताए।
तापस साहाका परिवारजनले तिनको व्यक्तिगत मोबाइल फोन घरमै छोड़ेको पाए अनि त्यसमा आत्महत्या सम्बन्धी सन्देश लेखिएको थियो। त्यसपछि पुलिसले शव उद्धार गरी सिलगढ़ी जिल्ला अस्पताल पठाएको छ। घटनाको खबर फैलिन साथ घोघोमाली क्षेत्रमा शोकको लहर छाएको छ।

