युद्धको वातावरणबीच सोमवार रातदेखि चिकेन नेकसहित उत्तर-पूर्व भारतभरि व्यापक सैन्य गतिविधि आरम्भ भएको छ। दिल्लीबाट सतर्कता सन्देश प्राप्त हुन साथ विध्वंसक गतिविधि रोक्न जोइण्ट इण्टरनल सेक्युरिटी एक्सरसाइज आरम्भ गरिएको हो। म्यानमार, चीन र बङ्गलादेश सीमामा सेनासितै बीएसएफ र ऱ्यापिड एक्शन फोर्सले सुरक्षा अभ्यासमा भाग लिएका छन्। उत्तर-पूर्व भारतका धेरै क्षेत्रमा आतङ्कवादी आक्रमणको सम्भावना देखाउँदै शनिवार दिल्लीबाट सेनाका गुप्तचर निकायले विशेष रिपोर्ट पठाएको थियो।
त्यसको आधारमा भारतीय सेनाको विशेष टोली, असम राइफल्स, सीआरपीएफ, बीएसएफ, आईटीबीपी र स्थानीय पुलिसको संयुक्त बल बनाएर आतङ्क विरोधी विशेष अपरेशन आरम्भ गरिएको छ। उक्त अपरेशनमा अहिलेसम्म ठूलो मात्रामा हतियार र गोलीगठ्ठा जफत गरिएको छ। म्यानमार सीमामा धेरै आतङ्कवादी शिविर ध्वस्त पारिएको बताइएको छ।
उत्तर-पूर्व भारतको चिन्ताजनक परिस्थितिको पुष्टि सेनासितै बीएसएफका गुप्तचरहरूले पनि गरेका छन्।
परिस्थितिको सामना गर्न सोमवार कोलकाताको फोर्ट विलियममा भारतीय सेनाको इस्टर्न कमाण्ड प्रमुख लेफ्टिनेण्ट जनरल आर. सी. तिवारी र बीएसएफका इस्टर्न कमाण्डका एडिशनल डाइरेक्टर जनरल महेशकुमार अग्रवालबीच लामो बैठक भएको थियो। उक्त बैठकपछि चिकेन नेकको सुरक्षाका लागि सेना र बीएसएफलाई महत्त्वपूर्ण कदम चाल्न निर्देश दिइएको छ। सोमवार रातिदेखि नै बङ्गलादेश सीमालाई लगभग सिल गरिएको छ र काँड़ेतार नलागेका सीमामा थप सुरक्षाकर्मी तैनाथ गरिएको छ।

