पैह्रोका कारण केवल सड़क मात्र होइन व्यापारसमेत प्रभावित भएको छ। 110 राष्ट्रिय राजमार्ग हुँदै समतलदेखि दार्जीलिङसम्म वाहनहरूको आवागमन अझै सामान्य हुन सकेको छैन। तर यही पथमा सयौँ मानिसहरूको जीविकोपार्जन निर्भर छ। सड़कको छेउछाउ एकपछि अर्को पसल, होटल, रेस्टुरेण्टदेखि ग्यारेज खुलेका थिए। त्यसैलाई आम्दानीको साधन बनाएका थिए ती मानिसहरूले। व्यापार राम्रै चल्थ्यो, सधैँजसो पर्यटकहरूको भीड़भाड़ रहन्थ्यो।
2012 मा तीनधारेमा आएको ठूलो पैह्रोपछि स्थिति परिवर्तन हुन थाल्यो। त्यसपछि पटकपटक पैह्रोले सड़क क्षतिग्रस्त बनायो। मरम्मती पनि भयो तर सड़क पहिलेकै अवस्थामा फर्कन सकेन। चुनाभट्टीमा चिया पसल चलाइरहेकी सुपर्णा तामाङले भनिन्, अहिले त दिनमा पाँच सय रुपियाँको पनि व्यापार हुँदैन। एक समय त तीन हजार रुपियाँसम्म बिक्री हुन्थ्यो। ट्रक, बस र साना चारचक्के वाहनहरू रोक्थे। चालक र पर्यटकहरू चिया र नास्ता गर्थे। अरू पसलबाट पनि किनमेल गर्थे। अहिले त दुई-तीनवटा निजी बसबाहेक खासै केही चल्दैन।
केही ठाउँमा टोय ट्रेनको लाइन नयाँ बनाएपछि सड़क अझै साँघुरो भएको छ। त्यसले गर्दा दुईवटा वाहन एकैसाथ जान कठिन हुन्छ। परिणाम स्वरूप वाहनको सङ्ख्या पनि घटेको छ। तिनीहरूको जीविकोपार्जनलाई ध्यानमा राखेर राष्ट्रिय सड़कमा पहिले जस्तै वाहनहरू चलोस् भनेर स्थानीयहरू चाहन्छन्। यसै सन्दर्भमा खर्साङका अतिरिक्त पुलिस अधीक्षक अभिषेक रायले भने, राष्ट्रिय सड़कमा सवारी आवागमनमा कुनै प्रतिबन्ध छैन। तर काम भइरहेको केही ठाउँमा भने स्थिति राम्रो छैन। कुनै पनि गाड़ी त्यो सड़क भएर आवतजावत गर्न सक्छ। दार्जीलिङका सांसद राजु विष्टले भने, हिलकार्ट रोडबारे हाम्रो योजना छ। समय आएपछि जानकारी दिनेछौँ।
110 राष्ट्रिय राजमार्गको अवस्था सुधार्नुपर्ने माग
