मेयरको निर्णयप्रति क्षुब्ध मेयर परिषद

महानन्दाको मैदानमा वैशाखी मेला आयोजना गर्ने विषयमा तृणमूलभित्र अन्तर्कलह प्रकाशमा आएको छ। गत वर्ष पार्टीका एकजना मेयर परिषदका नेतृत्वमा मेलाको अनुमति माग्दा मेयरले सिधै अस्वीकार गरेका थिए। तर यसपल्ट मेयर निकट एकजना व्यवसायीलाई मेला गर्ने अनुमति दिने सम्भावना देखिएपछि शासक दलभित्र आक्रोश फैलिएको छ। यद्यपि मेयर गौतम देवले भने, मेलाका आयोजकहरूले अनुमति मागेका छन्। तिनीहरूलाई केही शर्तहरू पूरा गर्न भनिएको छ। ती शर्तहरू पालना गरे मात्र अनुमति दिइनेछ। तर कुनै स्थितिमा मेला एक महीनाभन्दा बढ़ी चल्न दिइने छैन।गत वर्ष मेलाको अनुमति नदिएको विषयमा मेयरले भने, विषय जाँच गर्नुपर्छ। स्थानीय काउन्सिलर कमल अग्रवालले भने, यहाँ कुनै कार्यक्रम गर्न आयोजकहरूले सधैँ मसित नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) लिन्छन्। तर यसपल्ट वैशाखी मेला समितिले मसित एनओसी मागेको छैन। त्यसैले मैले निर्णय गरेको छु कि अबदेखि कसैलाई पनि त्यहाँ कार्यक्रम गर्न एनओसी दिइने छैन किनकि त्यो नदीको मेदान हो।
सिलगढ़ी नगर निगमको 10 नं वार्डमा सूर्य सेन पार्कको पछिल्तिर महानन्दाको मैदानमा लामो समयदेखि वैशाखी मेला हुँदै आएको छ। त्यहाँ कहिलेकाहीँ फूटबल र क्रिकेट प्रतियोगितासमेत हुने गर्छ। सन् 2023 मा उक्त ठाउँमै पहिलोपल्ट वैशाखी मेला आयोजना गरिएको थियो। त्यो मेला राम्रो चलेको थियो। त्यसैले गत वर्ष पनि मेला गर्ने अनुमति मागिएको थियो। तर अनुमति नदिइएको थियो। सूत्रअनुसार, मेयर परिषदका दिलीप वर्मनमार्फत मेयरसमक्ष मेलाको अनुमति मागिएको थियो। त्यति बेला दिलीप स्वयंले आर्थिक लगानी गर्ने इच्छा देखाएका थिए। तर मेयरले उक्त आग्रह सिधै अस्वीकार गरेका थिए। त्यसले गर्दा आयोजकहरू निराश भएर फर्किनु परेको थियो।
तर यसपल्ट मेयर नजिकका तृणमूल नेता बिप्लव सरकारले मेलाको अनुमति मागेका छन्। अनुमति पक्का भएको ठानी मेलाको प्रचारसमेत आरम्भ भइसकेको छ। प्रचार सामग्रीमा तृणमूल नेताको नाम र मोबाइल नम्बर दिई स्टल बुकिङ तथा प्रायोजनका लागि आग्रह गरिएको छ। यही कारण पार्टीभित्र एउटा वर्ग क्षुब्ध बनेको छ। यद्यपि मेयरले भने, अहिलेसम्म मेला आयोजना गर्न अनुमति दिइएको छैन। निश्चित स्थानमा पार्किङ र निश्चित समयभित्र मेला सक्ने जस्ता सबै शर्तहरू पूरा गर्ने लिखित प्रतिबद्धता आएपछि मात्र अनुमति दिइनेछ।वैशाखी मेलाबारे अहिले मेयर परिषद दिलीप वर्मन निकै आक्रोशित छन्। मेलाको विषय उठ्न साथ तिनको अनुहारमा असन्तोष झल्किएको देखिन्थ्यो। वर्मनले भने, अहिले म केही भन्न चाहन्नँ। पहिले मेला आरम्भ होस्, त्यसपछि सबैलाई बोलाएर जे भन्नु छ त्यो भन्नेछु। वैशाखी मेलाको कारण तृणमूल पार्टीभित्र उत्पन्न द्वन्द्व तिनको हाउभाउबाट स्पष्ट देखिन्छ। यदि गत वर्ष मेला गर्ने अनुमति दिइएको थिएन भने यो वर्ष किन दिइयो? के मेयरले आफ्ना निकटका व्यक्तिलाई लाभ दिन मेला आयोजना गर्ने अनुमति दिएका हुन्? शहरका केही तृणमूल नेताहरूको प्रश्न छ। यता मेयरले भने, अहिलेसम्म अनुमति दिइएको छैन। तर आयोजकहरूले कसरी प्रचार सुरु गरे भन्ने प्रश्न पनि अहिले पार्टीभित्र उठिरहेको छ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *