मस्कोसित फालाकाटाको नाम जोड़े पावेलले

तपाईँलाई राज कपूर अभिनीत हिन्दी चलचित्र मेरा नाम जोकरको स्मरण छ? एउटा जोकरको असफल प्रेम कथाले आजसम्म पनि दर्शकहरूलाई छोइरहेकै छ। मस्कोका विभिन्न सिनेमा हलहरूमा त्यो चलचित्र प्रदर्शित गरिएको थियो र रूसमा त्यो चलचित्र सुपरहिट भएको थियो। अब 53 वर्षपछि फेरि मस्कोमा जोकरसित सम्बन्धित चलचित्र देखाइनेछ। तर यो मेरा नाम जोकर होइन निर्देशक सौरिश देले बनाएका नयाँ जोकर चलचित्र हो। यो चलचित्र अन्तर्राष्ट्रिय मस्को फिल्म फेस्टिभलमा प्रदर्शन हुनेछ। यस चलचित्रसित उत्तर बङ्गालको नाम पनि जोड़िएको छ। यस चलचित्रमा फालाकाटाका पावेल दासले सहायक फोटोग्राफरको रूपमा काम गरेका छन्।यसअघि पावेलले काम गरेको इति मा गीतले लोकप्रियता मात्र पाएको थिएन ओस्करको दौड़मा पनि स्थान बनाएको थियो। तर चलचित्रमा त प्रायः सिनेमाटोग्राफर भनिन्छ यहाँ फोटोग्राफर किन भनिएको होला? किनभने अन्य चलचित्रहरू भन्दा जोकर फरक प्रकारको छ। 74 मिनट लामो यो चलचित्र झण्डै 60 हजार स्टिल फोटोहरू मिलाएर तयार पारिएको छ। एउटा जोकरको वास्तविक जीवन कथामा आधारित यो चलचित्र भारतकै पहिलो पूर्ण स्टिल फोटोमार्फत बनाइएको चलचित्र मानिएको छ। यसमा कुनै भिडियो फूटेज प्रयोग गरिएको छैन।
यसपालि मस्को अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा भारतका जम्मा तीनवटा चलचित्रहरूलाई मनोनयन प्राप्त भएको छ। जसमा बङ्गालको जोकर उल्लेखनीय छ। यो चलचित्र 47औँ मस्को अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको पहिलो दिन नै प्रदर्शन हुनेछ। आगामी 22 अप्रेलमा यसको वर्ल्ड प्रिमियर हुने तय भएको छ।फालाकाटाका पावेल दासले भने, भारतको पहिलो स्टिल फोटोमार्फत बनेको चलचित्र जोकर अन्तर्राष्ट्रिय मस्को फिल्म फेस्टिभलमा मनोनयन भएको छ। निर्देशक सौरिश दे र फोटोग्राफर प्रमित दाससित काम गर्ने मौका पाएर म भाग्यमानी बनेको छु। साथै चलचित्रमा केही अभिनय गर्ने अवसर पनि पाएको छु।
निर्देशक सौरिश दे विवाह र जन्मदिनको पार्टीहरूमा जोकर बनेर मनोरञ्जन दिने मानिसहरूमाथि आधारित एउटा डकुमेण्ट्री बनाउने योजना बनाइरहेका थिए। त्यसै क्रममा तिनको भेट बागम्बर बेरा नामक व्यक्तिसित भयो। त्यसै भेटपछि चलचित्रको प्लट तयार भयो। 3 फिट 7 इञ्च अग्ला बागम्बर बेरा जीवन सङ्घर्षसितै जन्मदिन र विवाहमा जोकर बनेर मानिसहरूलाई हसाउने तिनको पेशा चलचित्रको मुख्य कथावस्तु बन्यो। बागम्बरले चलचित्रमा आफैले अभिनय गरेका छन्। सहायक भूमिकामा देवज्योति भट्टाचार्य, फाएज खान र फालाकाटाका पावेल दासले अभिनय गरेका छन्। सहायक निर्देशकको रूपमा रेजमान खानले कार्य गरेका छन्।यसअघि पुतुल चलचित्रको इति मा गीत ओस्करको छनोट चरणसम्म पुगेको थियो जसमा पावेलको हात रहेको थियो। अब मस्को फिल्म फेस्टिभलमा पनि पावेलको काम देखाइनेछ। जोकर चलचित्रमार्फत फालाकाटा जोड़िएको कारण यहाँका मानिसहरू स्वाभाविक रूपले निकै उत्साहित छन्।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *