100 करोड़ ठगीको मुख्य आरोपी साहिदुल पक्राउ

फाँसीदेवामा ठूलो ठगी गिरोहको मास्टरमाइण्ड पक्राउ परेपछि आश्चर्यचकित पार्ने तथ्यहरू प्रकाशमा आइरहेका छन्। तिनको रिमाण्डको क्रममा धेरै सनसनीपूर्ण विवरणहरू सार्वजनिक भइरहेका दार्जीलिङ जिल्ला पुलिस अधीक्षक प्रवीण प्रकाशले पत्रकार सम्मेलनमा जानकारी गराएका छन्। पुलिस अधीक्षक प्रवीण प्रकाशले बताएअनुसार आरोपी साहिदुलले सर्वसाधारण नागरिकहरूको ब्याङ्क खाता भाड़ामा लिएर ठूलो ठगी योजना सञ्चालन गरिरहेका थिए।

लगभग नौ महीनाको जाँचपछि पुलिसले साहिदुललाई पक्राउ गरेको छ। पक्राउपछि ठगी नेटवर्कका महत्त्वपूर्ण प्रमाणहरू फेला परेका छन्। धीक्षक प्रवीण प्रकाशले भने, साहिदुलले सर्वसाधारणका कागजातहरू प्रयोग गरी ब्याङ्क खाता भाड़ामा लिने गर्थ्यो अनि ती कागजातहरू प्रयोग गरेर नक्कली सिम कार्डहरू बनाउँथ्यो। यी खाताहरूमार्फत लगभग 100 करोड़को ठगी भएको बताइएको छ।

यस घटनाको गहिरो जाँच गर्नका लागि पुलिस अतिरिक्त अधीक्षक र एसडीपीओको नेतृत्वमा पाँच सदस्यीय विशेष अनुसन्धान टोली गठन गरिएको छ। यो मुद्दा भारतभरि भएका 340 वटा अनलाइन ठगी घटनासित सम्बन्धित छ। तीमध्ये फाँसीदेवा पुलिस थानामा दर्ता भएका आठवटा मुद्दा पनि सामेल छन्। पक्राउ पर्नअघि साहिदुलको गुजरात, मुम्बई र दिल्लीका ठगी गिरोहहरूसित सम्पर्क रहेको बताइएको छ। फाँसीदेवाबाट सञ्चालन भइरहेका यी ठगी गतिविधिहरू भारतभन्दा बाहिरसम्म फैलिएको पाइएको छ जसमा दुबई, अष्ट्रेलिया र न्युजील्याण्ड समेत समावेश छन्।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *