होलीअघि र पर्वको केही दिनहरूमा रेलमार्ग हुँदै मदिरा र विभिन्न नशालु पदार्थहरूको तस्करी गरिन्छ। त्यसैले अलिपुरद्वारका स्टेशनहरूमा आरपीएफले कठोर सुरक्षा व्यवस्था अपनाएको छ। स्निफर कुकुर र ह्याण्ड मेटल डिटेक्टरको प्रयोग गरी यात्रीहरूको झोला अनि सामग्री जाँच भइरहेको छ। यसैबीच होलीको मागलाई ध्यानमा राख्दै उत्तर–पूर्व सीमान्त रेलवेले विशेष ट्रेनहरू सञ्चालन गरिरहेको छ। यद्यपि विभिन्न ठूला र साना स्टेशनहरूमा आरपीएफले सुरक्षालाई प्राथमिकता दिइरहेको छ।
न्यु अलिपुरद्वार स्टेशनका आरपीएफ निरीक्षक दिलीप तिवारीले भने, होलीका लागि विभिन्न मार्गहरूमा विशेष ट्रेनहरू सञ्चालनमा छन्। यस पर्वमा मदिरा तथा नशालु पदार्थहरूको तस्करी बढ्ने गर्दछ। त्यसैले विभिन्न स्टेशनहरूमा निगरानी बढाइएको छ। प्लेटफर्म क्षेत्रमा मात्र नभई रेलको डिब्बाहरूमा समेत पुलिस कुकुरहरूद्वारा जाँच थालिएको छ। यात्रीहरूको भीड़ नियन्त्रण गर्न पनि विभिन्न उपाय अपनाइएका छन्।
विशेष गरी बिहारमा मदिरामाथि प्रतिबन्ध लगाइएपछि असम, मेघालय, अरुणाचल प्रदेशमा यसको माग बढ़ेको छ। असम हुँदै मदिरा तथा गाँजा रेलमार्गबाट तस्करी हुने गरेको पाइन्छ। असम जान धेरैजसो ट्रेनहरू अलिपुरद्वार डिभिजन हुँदै बिहार पुग्ने भएकाले तस्करहरू पर्वको समयमा विशेष रूपमा सक्रिय हुने गर्छन्। तिनीहरू कहिले यात्री बनेर त कहिले विद्यार्थी जस्तै देखिने गरी पिठ्युँ झोलामा तस्करी गर्छन्। केही अवस्थामा पेण्ट्री कार वा शौचालयको अस्थायी सिलिङमा लुकाएर पनि ती पदार्थहरू ओसारपसार गर्ने गरेको देखिएको छ। असम र बिहारबीच धेरै महत्त्वपूर्ण ट्रेनहरू सञ्चालनमा छन् जसका माध्यमबाट मदिरा तस्करी हुने गर्छ। आरपीएफ तथा जीआरपीले पटक–पटक अवैध मदिरा तस्करी गर्नेहरूलाई कानूनी कार्वाही गर्दै आएको छ। तर पर्वको मौसममा यस्तो गतिविधि अझ बढ्ने गर्दछ। असम–मेघालयको मदिरा सहज रूपमा उपलब्ध हुने भएकाले तस्करहरूका लागि यसबाट धेरै लाभ हुन्छ। बिहारमा तस्करहरू नयाँ–नयाँ उपाय अपनाउँदै आएकाले यसपल्ट होलीभन्दा धेरै अघि नै आरपीएफले निगरानी बढ़ाएको छ।
न्यु अलिपुरद्वार स्टेशन, अलिपुरद्वार जङ्क्शन, न्यु कोचबिहार स्टेशन लगायतका महत्त्वपूर्ण स्टेशनहरूमा आरपीएफले कठोर जाँच गरिरहेको छ। अहिलेसम्म कुनै ठूला मात्रामा नशालु पदार्थ फेला परेको छैन। आरपीएफ सूत्रअनुसार टिकटबिना प्लेटफर्ममा प्रवेश गर्ने, अलार्म चेन तान्ने जस्ता आरोपमा 65 भन्दा अधिक मानिसहरूविरुद्ध कानूनी कार्वाही गरिएको छ। केही दिनमै लगभघ 58000 रुपैयाँ जरिमाना सङ्कलन भएको छ। तर यस विषयमा व्यापारीहरू असन्तुष्ट देखिएका छन्। न्यु अलिपुरद्वार स्टेशन व्यापारी सङ्घका सचिव दीपक दत्तले भने, आरपीएफले कारणबिना प्लेटफर्ममा चढ्नेमाथि ठूलो रकम जरिमाना लगाइरहेको छ। यसले रेल सेवामै प्रश्न उठेको छ। आरपीएफको अत्यधिक सक्रियताको कारण स्टेशन क्षेत्रमा व्यापार प्रभावित भइरहेको छ। हामी यस विषयमा रेलवे प्रशासनलाई लिखित गुनासो दिनेछौँ।
होलीअघि स्टेशनहरूमा सुरक्षा कठोर
