एक हृदय विदारक घटनामा एउटा कुम्की हात्तीले निजी कम्पनीका एक कर्मचारीलाई कुल्चेर मारिदिएको छ। उच्च पदस्थ रेलवे अधिकारीहरूको सामुन्ने हात्तीले कुल्चिँदा उक्त कर्मचारीको मृत्यु भएको हो। यो घटना बिहीवार अलिपुरद्वार जिल्लाको राजा भातखावा वन क्षेत्र हुँदै जाने रेलवे ट्र्याकको स्तम्भ नम्बर 162 नजिक भएको हो।
प्राप्त रिपोर्टहरूअनुसार एनएफ रेलवेले जङ्गली जानवरहरू, विशेष गरी हात्तीहरूलाई रेल दुर्घटनाबाट जोगाउन रेलवे ट्र्याकसितै इण्ट्रुजन डिटेक्शन सिस्टम नामक प्रविधि जड़ान गर्न थालेको छ। बिहीवार एनएफ रेलवेका महाप्रबन्धकसहितको उच्च स्तरीय टोली उक्त नयाँ प्रविधिको निरीक्षण गर्न पुगेको थियो। प्रणालीले सही रूपमा काम गर्दैछ कि छैन भनेर जाँच गर्न राज्य वन विभागले विशेष रूपमा तालिमप्राप्त दुई हात्ती, जुनाकी र ममता पनि ल्याएको थियो।
जाँचको क्रममा परीक्षणका लागि विशेष रेल ट्र्याकमा गुड्न थालेपछि उक्त रेलको आवाजले नजिकै उभिएको हात्ती जुनाकी आक्रोशित बन्यो। रिसाएको उक्त हात्तीले बिटकम कम्पनीका कर्मचारी सन्दीप चौधरीमाथि आक्रमण गर्यो्। हात्तीको आक्रमणमा तिनको घटनास्थलमै मृत्यु भयो। घटनास्थलमा उपस्थित रेलवेका महाप्रबन्धक तथा अलिपुरद्वार रेलवे डिभिजनका अन्य वरिष्ठ अधिकारीहरू यस अनपेक्षित आक्रमणबाट स्तब्ध भए।