तीन वर्षपछि गोरुमारामा गैँड़ा गणना आरम्भ भएको छ। बुधवार बिहानैदेखि वन कर्मचारी र स्वयंसेवकहरूले गणनाको कार्य आरम्भ गरेका छन्। गणनामा कुम्की हात्तीहरूको सहयोग पनि लिइएको छ। पहिलो दिनमै ठूला गैँड़ासितै धेरैवटा गैँड़ा बच्चाहरू देखिएपछि गोरुमारामा गैँड़ाको सङ्ख्या बढ्ने आशामा वन विभाग रहेको छ।
आज बिहानको उज्यालो आरम्भ हुने बित्तिकै वन कर्मचारी र स्वयंसेवकहरू विभिन्न समूहमा विभाजन भएर गणना गर्न थाले। गोरुमाराका 26 वटा कुम्की हात्तीहरूको पिठ्युँमा चढ़ेर गणनाकारहरूले जङ्गलका कुना-कन्दरामा गैँड़ा खोज्ने काम गरे। गोरुमारा, चम्प्रामारी, लाटागुड़ी, पानझोड़ा, नाथुवा जङ्गलहरूमा गैँड़ा गणना गरिएको छ। गोरुमारा वन्यजन्तु विभागका डीएफओ द्विज प्रतीम सेनले जानकारी दिएअनुसार, 5 र 6 तारिख दुई दिनसम्म गोरुमारामा गैँड़ा गणना कार्य हुनेछ। गणनाको कारण गोरुमाराका जङ्गलमा पर्यटकहरूको प्रवेश पनि दुई दिनका लागि बन्द रहनेछ।
तीन वर्षपछि गोरुमारामा गैँड़ा गणना आरम्भ
