भुइँमुनि जलस्तर घट्नाले शहरमा चिन्ता

जलपाइगढ़ी जिल्लामा भुइँमुनि जलस्तर क्रमशः तल झर्दै गइरहेको छ। विशेषज्ञहरूअनुसार शहरीकरणको प्रभाव बढ्दै जाँदा भुइँमुनि जलस्तर अझ तीव्र गतिमा तल झरिरहेको छ। यद्यपि अहिलेलाई नै कुनै गम्भीर चिन्ताको विषय नरहेको सम्बन्धित विभागले बताएको छ। जलपाइगढ़ी शहर र यसको वरिपरिका क्षेत्रमा निरन्तर बहुतल्ले भवनहरू, आवासीय परिसरहरू र शपिङ मलहरू निर्माण भइरहेका छन्। सरकारी कानूनलाई बेवास्ता गर्दै ती आवासीय क्षेत्रहरू तथा शपिङ मलहरूमा गहिरो नलकुप जड़ान गरिएको आरोप छ। भुइँमुनिबाट पानी तानिए पनि ती स्थानहरूमा वर्षाको पानी सङ्कलन गरी पुनः प्रयोग गर्ने कुनै योजना नरहेको सूत्रको भनाइ छ।
सार्वजनिक स्वास्थ्य इञ्जीनियरिङ विभागका खानेपानीका धाराहरू निरन्तर चुहिइरहेका छन्। त्यसलाई रोक्न सम्बन्धित अधिकारीहरूले खासै ध्यान दिइरहेका छैनन्। यसैबीच जलपाइगढ़ी नगरपालिकाका विभिन्न वार्डहरूमा खानेपानी आपूर्तिमा समस्या भइरहेको गुनासो प्रभावित स्थानीय मानिसहरूबाट उठिरहेको छ। यस विषयमा नगरपालिकाले हस्तक्षेप गर्नुपर्ने माग समेत उठिरहेको छ।

साथै शुद्ध खानेपानी आपूर्तिका लागि नगरपालिका जलाशयहरूको मरम्मती आवश्यक रहेको बताइन्छ। जलपाइगढ़ी साइन्स एण्ड नेचर क्लबका सचिव राजा राउतले भने, जिल्लाभरि भुइँमुनि रहेको जलस्तर क्रमशः तल झर्दै गइरहेको छ। यस समस्याप्रति जनचेतना अभिवृद्धि गर्न अझ बढ़ी प्रयास आवश्यक छ। ‘सर्फेस वाटर इन्भेष्टिगेशन डिभिजन’ सूत्रअनुसार अहिलेलाई कुनै गम्भीर चिन्ताको विषय छैन। सम्बन्धित विभागले आवश्यक निगरानी गरिरहेको छ तथा केन्द्रीय प्रयोगशालामा नियमित रूपमा पानी परीक्षण भइरहेको छ। जलपाइगढ़ी नगरपालिकाका अध्यक्ष परिषद सदस्य सन्दीप महतोले भने, शहरका आवासीय क्षेत्रहरूमा सरकारी निर्देशअनुसार भुइँमुनि रहेको पानी तानिएको छ वा छैन भन्ने विषयमा सम्बन्धित अधिकारीहरूसँग छलफल गरिनेछ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *