सुत्केरी मृत्यु रोकथाममा कालेबुङ राज्यभरि अग्रस्थानमा

स्वास्थ्य विभागको प्रतिवेदनमा मातृत्व मृत्युको सन्दर्भमा केही सकारात्मक खबर आएको छ। हालै प्रकाशित रिपोर्टअनुसार पश्चिम बङ्गालमा मातृत्व मृत्यु रोकथाममा कालेबुङ जिल्ला पहिलो स्थानमा रहेको छ। स्वास्थ्य विभागको रिपोर्टअनुसार सन् 2024 को अप्रेलदेखि दिसम्बर महीनासम्म यस जिल्लामा कुनै पनि सुत्केरी महिलाको मृत्यु भएको छैन। तर जलपाइगढ़ी जिल्लाको अवस्था भने चिन्ताजनक रहेको रिपोर्टमा उल्लेख गरिएको छ। त्यहाँ सुत्केरी मृत्यु दर धेरै उच्च रहेको उल्लेख छ। उत्तर बङ्गालका अन्य जिल्लाहरूको अवस्था भने तुलनात्मक रूपमा राम्रो छ।

स्वास्थ्य विभागको रिपोर्टअनुसार सन् 2023-24 मा राज्यमा प्रति एक लाख सुत्केरी महिलामध्ये 94 जनाको मृत्यु भयो जुन 2024-25 मा घटेर 79 पुगेको छ। सुत्केरी मृत्यु न्यूनीकरणमा कालेबुङ जिल्ला सबैभन्दा अघि रहेको छ। त्यसपछि क्रमशः दार्जीलिङ, कोचबिहार, उत्तर र दक्षिण दिनाजपुर, मालदा, नदिया, वीरभूम, दक्षिण 24 परगना र पूर्व मेदिनीपुर जिल्ला रहेका छन्। तर जलपाइगढ़ी, हाउड़ा र पुरुलिया जिल्लाको अवस्था चिन्ताजनक रहेको बताइएको छ। राज्यको औसत मृत्यु दर 79 (प्रति लाख) रहे पनि जलपाइगढ़ी, हाउड़ा र पुरुलिया जिल्लाहरूमा यो क्रमशः 125, 142 अनि 149 रहेको छ।

यद्यपि जलपाइगढ़ीका प्रमुख स्वास्थ्य अधिकारी असीम हल्दारले भने, सचेतना अभिवृद्धि गर्ने कार्य निरन्तर भइरहेको छ। प्रत्येक महीना सुत्केरी मृत्यु रोकथामका उपायहरूबारे बैठक गरिन्छ। गाउँ-गाउँ पुगेर सचेतना फैलाउने स्वास्थ्य कर्मीहरूसित निरन्तर सम्पर्कमा रही कार्य गरिरहेका छौँ। स्वास्थ्य विभागअनुसार, यो रिपोर्ट स्याम्पल रजिस्ट्रेशन सिस्टमको आधारमा तयार पारिएको हो। एकजना वरिष्ठ स्वास्थ्य अधिकारीअनुसार, राज्यमा पछिल्ला तीन-चार वर्षमा सुत्केरी मृत्यु न्यूनीकरणमा उल्लेखनीय सुधार भएको छ। दार्जीलिङका प्रमुख स्वास्थ्य अधिकारी तुलसी प्रमाणिकले भने, पहाड र समतल क्षेत्र समेट्दा यस जिल्लामा सुत्केरी मृत्यु अघिल्लो वर्षहरूभन्दा धेरै नियन्त्रणमा आएको छ। हाम्रो लक्ष्य यसलाई शून्यमा झार्नु हो। तर उत्तर बङ्गाल मेडिकल कलेज औ अस्पतालका स्त्री रोग विशेषज्ञ डा. सन्दीप सेनगुप्तअनुसार, कोचबिहार, अलिपुरद्वारदेखि इस्लामपुर तथा उत्तर बङ्गालका विभिन्न जिल्लाबाट गम्भीर अवस्थामा रहेका सुत्केरी महिलाहरू उत्तर बङ्गाल मेडिकल कलेजमा रेफर गरिन्छ। किशनगञ्जसहित बिहारका महिलाहरू पनि उपचारका लागि यहाँ आउँछन्। तीमध्ये केहीको मृत्यु हुन्छ जुन दार्जीलिङ जिल्लाको मृत्यु सङ्ख्यामा गणना गरिन्छ। यदि त्यस सङ्ख्यालाई बाहिर निकालिए दार्जीलिङ जिल्लाको वास्तविक मृत्यु दर निकै कम्ती हुनेछ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *