यूपीएससीको कम्बाइण्ड जियो साइण्टिष्ट परीक्षामा सिलगढ़ी जयदीप रायले पहिलो स्थान प्राप्त गरेका छन्। अर्कातिर अखिल भारतीय सूचीमा यसै शहरका अर्को प्रतिभावान सौभिक साहा सातौँ स्थानमा रहेका छन्। तिनीहरूको उपलब्धिमा परिवारका सदस्य मात्र होइन सिङ्गो शहरवासीले गर्व अनुभूति गरिरहेका छन्।
सिलगढ़ी बोइज हाई स्कूलका विद्यार्थी जयदीपले सानैदेखि कहिल्यै पनि घड़ी हेरर पढ्ने बानी बनाएनन्। 2017 को माध्यमिक परीक्षामा जयदीपले दार्जीलिङ जिल्लामा तेस्रो स्थान प्राप्त गरे। 42 नम्बर वार्डका वासिन्दा जयदीपले यो वर्ष आईआईटी बम्बेबाट एप्लाइड जियोलोजीमा एमएससी उत्तीर्ण गरे। तिनले भने, प्रीलिमिनेरी, मेन्स र अन्तर्वार्ता गरी तीन चरणमा यो परीक्षा भयो। सोमवार यस वर्षको जियो साइण्टिष्ट परीक्षाको अन्तिम परिणाम सार्वजनिक भयो। राष्ट्रिय स्तरको यस परीक्षामा पहिलो स्थान प्राप्त गर्छु भन्ने सोचेको थिइनँ। जयदीपका बाबु पलाशचन्द्र राय छोराको सफलतामा गर्वित छन्। तिनले भने, यति कठिन परीक्षामा मेरो छोराले पहिलो स्थान ल्यायो, त्यसबारे सोच्दा निकै खुशी लागिरहेको छ। सानैदेखि उसले पढ़ाईमा कहिल्यै अल्छी गरेन।
अर्कातिर यस परीक्षामा देशभरि सातौँ स्थान प्राप्त गर्ने सौभिक साहा आईआईटी खड़गपुरका पूर्व विद्यार्थी हुन्। 22 नम्बर वार्डका बासिन्दा सौभिकले भने, अब केवल जागिरमा सहभागी हुने प्रतीक्षा गरिरहेको छु। तिनका बाबु साधनचन्द्र साहा र आमा शुक्ला साहा तिनको यस सफलताबाट अत्यन्त उत्साहित छन्।

