Breaking
Wed. Dec 25th, 2024

क्रिसमसअघि दार्जीलिङमा पर्यटकको भीड़

दिसम्बरको घमाइलो मौसममा पहाड़ले मानौँ पर्यटकलाई स्वागत गर्दै बोलाइरहेको छ। कञ्चनजङ्घाको सुन्दरताको आनन्द लिन देशका विभिन्न ठाउँबाट पर्यटक दार्जीलिङ आइरहेका छन्। क्रिसमसअघि मात्र होइन कोलकातादेखि अन्य ठाउँका प्रकृतिप्रेमी पनि एनजेपी पुगिरहेका छन्। त्यसपछि तिनीहरू पहाड़तर्फ लाग्छन्। तर केही चालकहरूले यस अवसरमा दोब्बर भाड़ा मागेका आरोप लागेको छ। यसले गर्दा धेरै पर्यटकहरू असन्तुष्ट बनेका छन्। चालकहरूको सङ्गठनले भने बढ़ी भाड़ा लिइएको आरोप अस्वीकार गरेको छ। जनवरीको पहिलो हप्ता दार्जीलिङका होटलहरू लगभग पूर्ण रूपमा बुक भइसकेका पर्यटन व्यवसायीसित कुराकानीबाट थाहा लागेको छ। 20 दिसम्बरदेखि नै पश्चिम बङ्गाल र अन्य राज्यका पर्यटक पहाड़तर्फ आकर्षित भइरहेका छन्। तर तिनीहरूको सबैभन्दा ठूलो समस्या गाड़ी भाड़ा बनेको छ। सोमवार बिहान काकद्वीपका वासिन्दा महीतोष चक्रवर्ती सपरिवार न्यू जलपाइगढ़ी स्टेशनमा ओर्लिए। तिनको गन्तव्य दार्जीलिङ थियो। चालकसित कुराकानी गर्दा तिनले गाड़ी भाड़ा दोब्बर मागेको सुनेर महीतोष निराश बने। अन्ततः साढ़े 4 हजारमा सहमति भयो। महीतोषले भने, सामान्य समयमा 2 देखि 2.5 हजारमै दार्जीलिङ जान सकिन्थ्यो। तर अहिले झण्डै दोब्बर भाड़ा लाग्यो।
परिवारसित यसपल्ट क्रिसमस पहाड़मा मनाउने योजना बनाएकी सुमना सरकार पनि गाड़ी भाड़ाको समस्याबाट बाँच्न सकिनन्। कोलकाताबाट बसमा आएकी सुमनाले जङ्क्सनमा चालकसित भाड़ा तय गर्न खोज्दा विवाद भयो। सुमनाअनुसार, दार्जीलिङ जाने भाड़ा 7 हजार मागियो। पछि 5.5 हजारमा सहमति भयो। तिनले प्रशासनलाई यस समस्यामाति ध्यान दिने आग्रह गरिन्। एनजेपी ट्याक्सी मालिकहरूको सङ्गठनका अध्यक्ष उदय साहाले भने, हामी उचित भाड़ा लिएरै पर्यटकलाई गन्तव्यमा पुर्याटउँछौँ। कुनै दबाउ दिइएको छैन।
उता लामो समयपछि उत्तर सिक्किम खोलिएको हुँदा त्यहाँ पनि पर्यटकको ठूलो भीड़ छ। सिक्किम पर्यटन विभागअनुसार, आइतवार मात्र 1989 जना पर्यटक उत्तर सिक्किम पुगे जुन हालसम्मकै रेकर्ड हो। तर होटल बुक नगरी जाने पर्यटकहरूले दार्जीलिङ र सिक्किममा समस्या भोग्नु परे। क्रिसमसको अवसरमा पर्यटन व्यवसायमा आएको उछालले व्यवसायीहरू खुशी छन्। हिमालयन हस्पिटालिटी एण्ड टुरिजम डेभलपमेण्ट नेटवर्कका महासचिव सम्राट सन्यालले भने, अहिले धेरै पर्यटकहरू पहाड़मा छन्। व्यवसायीहरूले तिनीहरूलाई उत्कृष्ट सेवा दिनुपर्छ। पूर्वी हिमालय ट्राभल एण्ड टुर अपरेटर एसोसिएशनका महासचिव देवाशीष चक्रवर्तीले भने, हाम्रो बुकिङ राम्रो भइरहेको छ। तर गाड़ी भाड़ाका गुनासोहरू चिन्ताजनक छन्। पर्यटकले अनुचित भाड़ाको कारण दार्जीलिङप्रति चासो गुमाउनु हुँदैन। पर्वको समयमा पहाड़बारे गरिएको नकारात्मक प्रचारले पर्यटनलाई पुगेको क्षतिलाई अहिले केही ठीक गर्न सकिने पर्यटन व्यवसायीहरू विश्वास गर्छन्।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *