Breaking
Mon. Dec 23rd, 2024

अवैध बालुवा-ढुङ्गा खननको गुनासो

चियाबारी छेउको नदीबाट अवैध रूपमा हुने बालुवा र ढुङ्गाको खनन रोक्न यसपल्ट दार्जीलिङ पुलिस प्रशासनको शरणमा पुगेको छ चियाबारी मालिकहरूको सङ्गठन टी एशोसिएसन अफ इण्डिया (टाई)। गत 3 दिसम्बरमा सङ्गठनको तर्फबाट पुलिस अधीक्षक, जिल्लापालसहित प्रशासनका विभिन्न तहमा लिखित रूपमा गुनासो दर्ता गरिएको छ। मङ्गलवारसम्म स्थितिको अध्ययन गरिए पनि कुनै कार्वाही नभएको आरोप लगाइएको छ। नक्सलबारी ब्लकको पुरानो बेलगाछी चियाबारीको छेउमा अवैध बालुवा-ढुङ्गाको खननले जोखिम्पूर्ण स्थिति सिर्जना गरेको चियाबारी मालिकहरूको सङ्गठनले दाबी गरेको छ। यो काम चाँड़ै बन्द नभए नदीको प्रवाह परिवर्तन भई आगामी वर्षाको ऋतुमा चियाबारीको एक भाग बाढ़ीमा डुब्ने डर छ। पछिल्ला केही दिनमा थुप्रैपल्ट स्थानीय पुलिस चौकीमा लिखित गुनासो दर्ता गरिएको पनि पत्रमा उल्लेख गरिएको छ।
टाई र उत्तर बङ्गाल शाखाका सचिव सुमित घोषले भने, हामी दैनिक रूपमा क्षेत्रको अवस्था बुझिरहेका छौँ। बेलगाछी चियाबारीलाई घेरेर डरलाग्दो स्थिति सिर्जना भएको छ। पुलिस सूत्रअनुसार महानन्दा, बालासन, डुमुरिया, माझा र मेची नदीमा बालुवा माफियाहरू सक्रिय रहेका आरोप छ। साथै थुप्रै चियाबारी बस्ती, जङ्गल छेउका साना नदी र झोड़ा (साना खोला) बाट पनि बालुवा खनन भइरहेको गुनासो छ। नक्सलबारीको बेलगाछी मात्र होइन जबरा चियाबारीको चेङ्गा नदीबाट पनि बालुवा खनन गरिन्छ। अटल चियाबारीको चेङ्गा नदी, मेची नदीको रकामजोते, न्यू चम्टा, गुल्मा, बालासनको पुटिनबारी र एमएम तराई चियाबारीबाट पनि अवैध रूपमा बालुवा खनन गरिएको गुनासो छ।
मतिगढ़ाको ताराबारी, कलमजोत, राना बस्ती, कावाखाली, खोप्रेल र पथरघट्टाजस्ता क्षेत्रमा अवैध बालुवाको व्यापार धेरै हुने गरेको आरोप छ। साना ट्रक, ट्र्याक्टर र डम्परमा बालुवा तस्करी गरिन्छ। 3-10 हजार रुपियाँको बालुवा निकालेर तीन गुणा महँगोमा छिमेकी बिहारमा तस्करी गरिने आरोप पनि छ। केही वर्षदेखि यस्तो अवैध कार्य भइरहेको भए पनि पुलिस प्रशासनले यो अवैध व्यापार पूर्ण रूपमा रोक्न नसकेको आरोप छ। तीन महीनाअघि मतिगढ़ा-नक्सलबारीका भाजपा विधायक आनन्दमय बर्मनले मुख्यमन्त्री ममता ब्यानर्जीलाई बालुवा र ढुङ्गाको अवैध व्यापार रोक्न पत्र लेखेका थिए। तिनले विरोधीहरू, पुलिस-प्रशासन र केही राजनैतिक दलको संलग्नतामा सिण्डिकेट बनाएर बालुवा माफियाहरूले कार्य गरिरहेका आरोप लगाएका थिए। भाजपा विधायकले भने, मैले मुख्यमन्त्रीलाई यो अवैध व्यापार बन्द गर्न अनुरोध गर्दै पत्र लेखेको थिएँ। तर अझै महकुमाभरि यो अवैध व्यापार जारी छ। गत वर्ष मार्चमा बालासनमा रातको अन्धकारमा काम गर्दा तीनजनाको मृत्यु भएको थियो। तीमध्ये दुईजना नाबालिक थिए। त्यसबाहेक विधाननगरको मुरलीगञ्ज र घोषपुकुर गङ्गाराम चियाबारी क्षेत्रमा बालुवाको ट्र्याक्टर दुर्घटनामा थप दुईजनाको मृत्यु भएको थियो। यसै गरी अवैध क्रशरहरूको रगरगीबारे पनि प्रशासनलाई गुनासो गरिएको छ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *