सेवा गुणस्तरको मूल्याङ्कनमा राज्यभरि कोचबिहार जिल्ला स्वास्थ्य विभागले पहिलो स्थान प्राप्त गरेको छ। सेवा स्तर सुधार र रोगीहरूलाई उत्कृष्ट स्वास्थ्य चिकित्सा परिसेवा प्रदान गरे बापद कोचबिहार जिल्लालाई नेशनल क्वालिटी एश्योरेन्स स्ट्याण्डर्ड्स पुरस्कार प्राप्त भएको छ। उत्कृष्टताको यो पुरस्कार घोषणा हुन साथ कोचबिहार जिल्ला स्वास्थ्य विभागमा खुशीको माहोल छाएको छ। सोमवार कोलकातामा स्वास्थ्य विभागका अधिकारीहरूको हातमा यो पुरस्कार हस्तान्तरण गरिएको थियो। केही समयअघि स्वास्थ्य विभागका उच्च अधिकारीहरूले कोचबिहार जिल्लाको भ्रमण गरेर निरीक्षण गरेका थिए। विभिन्न पक्षमाथि आधारित अङ्कको आधारमा यो पुरस्कार घोषणा गरिएको हो। यसअघि पनि कोचबिहार जिल्लाले राज्य र राष्ट्रिय स्तरमा धेरै पुरस्कारहरू जितिसकेको छ। यस उपलब्धिले उक्त सूचीमा अर्को सफलता थपेको छ। कोचबिहारमा अहिले सुपर स्पेसियालिटी अस्पताल नभए पनि एउटा मेडिकल कलेज छ। एमजेएन अस्पताललाई पदोन्नति गरेर त्यहाँ नै मेडिकल कलेज निर्माण गरिएको हो। यहाँ रहेको मातृका विभाग राज्यकै उत्कृष्टमध्ये एक रहेको दाबी गरिन्छ। साथै अधिकारीहरूको भनाइमा जिल्लाका प्राथमिक स्वास्थ्य केन्द्रहरूमा प्रदान गरिने चिकित्सा परिसेवाले लाखौँ मानिसहरू नियमित रूपले लाभान्वित भइरहेका छन्। सबै पक्षको मूल्याङ्कनपछि नै यो पुरस्कार प्रदान गरिएको हो।
स्वास्थ्य चिकित्सा परिसेवा स्तरमा पुरस्कार प्राप्त गरे पनि जिल्लामा स्वास्थ्य विभागमा केही कमजोरीहरू रहेका जनगुनासो छ। अझै पनि चिकित्सक अभावको कारण धेरै स्वास्थ्य केन्द्रहरू बन्द छन्। महकुमा अस्पताल र मेडिकल कलेजमा पनि चिकित्सकहरूको ठूलो अभाव छ। विशेषज्ञ चिकित्सकको अभावमा कार्डियोलोजी, नेफ्रोलोजी, न्युरोलोजी जस्ता महँगो उपचारका लागि कोचबिहारका मानिसहरूलाई निजी अस्पतालहरूमाथि भर पर्नुपर्ने बाध्यता छ। यद्यपि स्वास्थ्य विभागका अधिकारीहरूको भनाइमा चिकित्सक अभावको समाधान गर्न उच्च अधिकारीहरूलाई पटक-पटक जानकारी गराइएको छ। सीमित पूर्वाधार र चिकित्सक अभावबीच पनि स्वास्थ्यकर्मीहरूको निरन्तर परिश्रमले उत्कृष्ट स्वास्थ्य चिकित्सा परिसेवा प्रदान भइरहेको छ।
यस विषयमा कोचबिहारका प्रमुख स्वास्थ्य अधिकारी सुकान्त विश्वासले भने, उत्कृष्टको उपाधि पाउँदा हामी अत्यन्तै खुशी छौँ। स्वास्थ्य विभागका सबैको निरन्तर प्रयासकै कारण कोचबिहार जिल्लामा उत्कृष्ट स्वास्थ्य चिकित्सा परिसेवा सम्भव भएको हो। यस पुरस्कारले हामीलाई भविष्यमा अझ राम्रो सेवा प्रदान गर्न थप प्रेरणा दिएको छ।