अचानक सयौँ वाहनको चक्का रोकिन्छ। यातायात ठप्प छ अनि गाडीहरूको लामो लाइन लाग्छ। चिन्ता बढ्दैछ, सबैको प्रश्न छ के भयो फेरि? अघिल्तिर के भएको छ कसैले बुझ्न सकेको छैन। केही क्षणपछि थाहा पाउँछन् बिरिक डाँड़ामा पहाडबाट ठूल्ठूला ढुङ्गा र पैह्रो माटो खसेर बग्दैछन्। त्यसपछि 10 नम्बर राष्ट्रिय राजमार्ग अनिश्चितकालका लागि बन्द हुन्छ। त्यसरी नै प्रत्येक वर्ष तीनधारे, पगलाझोड़ा क्षेत्रमा पैह्रो जान्छ। कहिलेकाहीँ टोय ट्रेनको रेल लाइन आकाशमा झुलिरहेको हुन्छ। यो वर्ष पगलाझोड़ामा मात्र होइन 55 राष्ट्रिय राजमार्गका विभिन्न स्थानहरूमा रेल लाइनको तल्तिरको माटो खसेको थियो। पर्यटन मौसमसहित महीनौँसम्म टोय ट्रेन परिसेवा ठप्प रह्यो। स्थिति यस्तो बन्यो कि युनेस्कोको हेरिटेज स्वीकृति गुमाउने जोखिम दार्जीलिङ हिमालयन रेल्वेलाई आइपुग्यो। केवल सड़क बन्द मात्र होइन प्रत्येक वर्ष पैह्रोको कारण धेरैको मृत्यु भइरहेको छ। तर बारम्बार पहाड़ी क्षेत्रमा यस्तो स्थितिको सामना किन गर्नुपर्छ?
हिमालयको यस क्षेत्रमा पैह्रो गइबस्छ। कहाँ र कहिले पैह्रो जान्छ भनेर पूर्वानुमान गर्न नसकिने कारण नै जोखिम टार्न नसकिने विशेषज्ञहरूको विचार छ। तर अब यस्तो समय परिवर्तन हुने सम्भावना अहिले उज्यालो हुँदै आइरहेको छ। केरला राज्यको वाइनाडमा भएको प्राकृतिक प्रकोपबाट शिक्षा लिएर अब हिमालय र त्यससँग सम्बन्धित क्षेत्रमा अत्याधुनिक ल्याण्डस्लाइड अर्ली वार्निङ सिस्टम (एलईडब्ल्यूएस) वा पैह्रोको पूर्वानुमान लगाउने दिशामा केन्द्र सरकार अघि बढ़ेको छ। यसमा भारतको खनिज मन्त्रालयअन्तर्गत रहेको जियोलोजिकल सर्वे अफ इण्डियाको इटालीको द रिसर्च इन्स्टिट्यूट फर जिओ हाइड्रोलोजिकल प्रोटेक्शन अफ द नेशनल रिसर्च काउन्सिलसित एमओयू सम्झौता हुँदैछ। 6 दिसम्बर केन्द्रीय मन्त्री परिषदको बैठकबाट यसलाई हरियो झण्डा देखाइएको छ। यो वर्ष 28 जुलाईमा वाइनाडको मेपाडी ग्राम पञ्चायत क्षेत्रमा प्रचण्ड वर्षा र पैह्रोको कारण लगभग 400 मानिसहरूको मृत्यु भएको थियो। यो क्षेत्र दार्जीलिङ वा छिमेकी राज्य सिक्किमबाट लगभग तीन हजार किलामिटर टाढ़ा भए पनि भविष्यमा वाइनाडको घटना दार्जीलिङ वा सिक्किममा नदोहोरिएला भन्ने ग्यारेण्टी छैन।
यसकारण यस्ता एमओयू सम्झौताले भविष्यमा पहाड़ी दार्जीलिङ र सिक्किमलाई आशाको किरण जन्माएको छ।
सामान्यतया मौसम विभागको तर्फबाट प्रचण्ड वर्षाको पूर्वानुमान हुँदा पहाड़ी क्षेत्रमा पैह्रोको चेताउनी जारी गरिन्छ। तर प्राविधिक समस्याको कारण मौसम विभागले विशेष क्षेत्र पहिचान गर्न सक्दैन। वर्षाको मात्रा पूर्वानुमानको आधारमा जीएसआईले विगत दुई वर्षदेखि उत्तराखण्डका केही जिल्लासहित दार्जीलिङ जिल्लाका प्रशासनलाई पनि पैह्रो सम्बन्धी पूर्वानुमान र क्षति टार्नका लागि नियमित रूपमा सल्लाह दिइरहेको छ। यसको कारण दार्जीलिङ जिल्ला प्रशासनले पनि पूर्व तयारी गर्न सकिरहेको छ। यदि अर्ली वार्निङ सिस्टम लागू भए र नेशनल रिसर्च काउन्सिलले काम गरे विस्तृत जानकारी प्राप्त हुनेछ र त्यसअनुसार आवश्यक कदम उठाउन सकिनेछ। मौसम विभागको सिक्किमका केन्द्रीय अधिकारी गोपीनाथ राहाले भने, “जति प्रविधिको सहयोग प्राप्त हुनेछ, प्राकृतिक प्रकोपको सामना गर्दा त्यति नै सफलता प्राप्त हुनेछ। क्षतिको मात्रा र मृत्युको सङ्ख्या घटाउन सकिनेछ।