Breaking
Mon. Dec 23rd, 2024

मध्याह्न भोजनको मेनु पनि परिवर्तन

उत्तर पहाड़तिर चिसो बढ़ेको छ। चिसो मौसम भनेको बन्दकोपी, फूलकोपी, पालङ साग, रातो साग, मुला र सिमीको सिजन हो। घर परिवारको भोजन तालिकामा परिवर्तन भइसकेको छ। यसमा विद्यार्थीहरू किन अपवाद हुने? भर्खरै मध्याह्न भोजनको राशि वृद्धि गरिएको छ। यसले मध्याह्न भोजनको मेनु पनि परिवर्तन गरेको छ अनि अहिले विद्यार्थीहरूको थालमा हिउँदका तरकारीहरू देखिन थालेका छन्।

हिउँदका तरकारीहरूमा पोटासियम, बीटा-क्यारोटिन, आइरन, म्याग्नेसियम, फोलिक एसिड, एण्टी अक्सिडेण्ट र भिटामिनको प्रचुर मात्रामा पाइन्छ। त्यसैले विद्यार्थीहरूको पोषणलाई ध्यानमा राख्दै सरकारी मेनु पनि परिमार्जन गरिएको हो। केन्द्रले मध्याह्न भोजनका लागि राशि वृद्धि गरेपछि शिक्षकहरू केही राहतको अनुभव गरेका छन्। मध्याह्न भोजनका लागि निश्चित मेनु तय गरिएको छ। तर लामो समयदेखि राशि नबढ्दा शिक्षकहरू समस्यामा परेका थिए। अर्कातिर तरकारीको मूल्य पनि लगातार बढ़िरहेको थियो। बजटभित्रै पोषणयुक्त खाद्य उपलब्ध गराउन गाह्रो भइरहेको थियो। पहिले प्राथमिक तहका लागि प्रति छात्र राशि 5.45 रुपियाँ उपलब्ध गराइन्योग । उच्च प्राथमिक तहमा यो राशि 8.12 रुपियाँ थियो। हालै यो राशि बढ़ाएर प्राथमिक तहमा 6.19 रुपियाँ अनि उच्च प्राथमिक तहमा 9.29 रुपियाँ बनाइएको छ। यसले समस्या केही समाधान भएको छ। अहिले विद्यार्थीहरूको थालमा हिउँदका तरकारीहरू थपिएका छन्।

तराई तारापद आदर्श विद्यालयका प्राथमिक विभागका प्रमुख शिक्षक अविन मण्डलले भने, राशि बढेको कारण विद्यार्थीहरूलाई मध्याह्न भोजनमा फूलकोपी, बन्दकोपीजस्ता हिउँदका तरकारी दिन सकिएको छ। पहिले प्राप्त हुने राशिमा मध्याह्न भोजन चलाउनै कठिन थियो। अब भने समस्या केही हल भएको छ। चिसोको सिजनमा विद्यार्थीहरूका लागि मेनुमा मिक्स भेज र सोयाबिन-फूलकोपीको तरकारी समावेश गरिएको छ। नवग्राम प्राथमिक विद्यालयका प्रमुख शिक्षक हिरण्मय हाजराले भने, विभिन्न प्रकारका सागसब्जी मेनुमा राखिएको छ। विद्यार्थीहरूले खुशीसित मध्याह्न भोजन खाइरहेका छन्। मध्याह्न भोजनको मेनुमा अधिक सागसब्जी सुनिश्चित गर्न प्राथमिक विद्यालय समितिका अध्यक्ष दिलीपकुमार रायले विशेष ध्यान दिइरहेका छन्।तराई तारापद आदर्श विद्यालयको कक्षा दुईका विद्यार्थी अङ्कुश बर्मनलाई फूलकोपी खुबै मन पर्छ। तिनले भने, घरमा कहिलेकाहीं फूलकोपी पकाइन्छ। स्कूलमा भने एक दिन छोड़ेर दिन्छ। यहाँ मैले फूलकोपी र अण्डाको तरकारी खाएँ। धेरै राम्रो लाग्यो। सब्जी खान मात्रै होइन कुन सब्जीले के-के लाभ हुन्छ भनेर पनि स्कूलमा जानकारी दिइन्छ। नवग्राम प्राथमिक विद्यालयको कक्षा दुईकी छात्रा अलिशा महालीले बताइन्। सागसब्जीसितै केही स्कूलहरूमा हिउँदका फल (जस्तै, सुन्तला) दिन आरम्भ गरेका छन्।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *