सिलगढ़ी र ढाकाबीच बस सेवा वन्द भएको पाँच दिन भइसकेको छ। यात्रीहरूको अभावले बस काउण्टरहरू सुनसान बनेका छन्। वर्तमान परिस्थितिमा भारतबाट कसैले पनि बङ्गलादेश जाने आँट गरिरहेको छैन। यता चिकित्सा र अध्ययनको कारणबाहेक बङ्गलादेशी नागरिकहरूलाई भिसा प्रदान गरिएको छैन। यस्तो स्थितिमा बस चलाउँदा लाभ नहुने भारत-बङ्गलादेश बस सेवासँग सम्बन्धित मालिकहरूको भनाइ छ।
बङ्गलादेशको परिस्थितिको कारण सिलगढ़ीको होटल व्यवसायमाथि पनि नकारात्मक प्रभाव परिरहेको छ। कति दिनसम्म यस्तो स्थिति रहन्छ भन्ने प्रश्न उठ्न थालेको छ। पर्यटन, चिकित्सा र अध्ययनका लागि धेरै मानिसहरू बङ्गलादेशबाट भारत आउँछन्। ढाका लगायत वरिपरि क्षेत्रका मानिसहरू प्रायः चेङ्ग्राबन्धा हुँदै भारत आउँछन्। त्यसकारण एउटा निजी यातायात कम्पनीले सिलगढ़ी र ढाकाबीच एक जोड़ी बस चलाउँदै आइरहेको थियो। गत अगस्त महीनासम्म भरिभराउ यात्री हुने ती बसहरूमा अहिले पाँच दिनसम्म पर्खिएर बस्दा पनि यात्री छैन। यातायात कम्पनीको एउटा काउण्टर मल्लागढ़ी क्षेत्रमा छ। मङ्गलवार त्यहाँ जाँदा एकजना कर्मचारी मात्र थिए। सारा काउण्टर खाली थियो। काउण्टरका कर्मचारी निताई सूत्रधरले भने, पछिल्ला दुई हप्तामा केवल दुई दिन मात्रै बस चल्यो। त्यसमा पनि यात्री थिएनन्। सिलगढ़ी र वरिपरिका धेरै मानिसहरूको आफन्त ढाका र नजिकका क्षेत्रमा छन्। तर अल्पसङ्ख्यकहरूमाथि हिंसात्मक घटनाहरू भइरहेको हुँदा कोही पनि बङ्गलादेश जान चाँहदैन। तिनले थपे, हामी तीनजना कर्मचारी काउण्टरमा काम गर्छौँ। काउण्टर चलाउन पनि खर्च लाग्छ। यस्तो स्थिति रहिरहे काउण्टर बन्द गर्नुबाहेक अर्को विकल्प छैन।
हाल सिलगढ़ीबाट ढाका जाने यात्रीहरू साना गाड़ी भाड़ामा लिएर चेङ्ग्राबन्धासम्म जान्छन्। त्यसपछि बङ्गलादेशभित्र यात्रा गर्न तिनीहरूले गाड़ी बुक गरेका हुन्छन्। सीमा पार गरेर बङ्गलादेश पुगेपछि तिनीहरू आफ्ना गन्तव्यतर्फ जान्छन्। दुई-चारजना यात्रीका लागि बस चलाउँदा लाभ नहुने यातायात कम्पनीका प्रबन्धक बब्लु घोषले बताए। घोषले भने, दुई महीनादेखि यात्रीहरूको सङ्ख्या घट्दै गइरहेको छ। अहिले यात्री नै पाइन्न। भारतीय मानिसहरूमा त्रासको वातावरण बनेको छ। दुई देशबीच दैनिक एक जोड़ी बस सञ्चालन हुन्थ्यो। अहिले दुवै बस सेवा बन्द गरिएको छ।हास्मी चोक, महात्मा गान्धी चोक, जङ्क्सन, मल्लागढ़ी र विधान मार्केट क्षेत्रका विभिन्न होटलहरूमा बङ्गलादेशी नागरिकहरू बस्थे। तर बङ्गलादेशी नागरिकहरूको आगमन घट्दा होटल व्यवसायमाथि पनि प्रभाव परिरहेको होटल सञ्चालकहरूले बताए। ग्रेटर सिलगढ़ी होटलियर्स वेल्फेयर एसोसिएशनका सहसचिव उज्ज्वल घोषले भने, सरकार परिवर्तनपछि बङ्गलादेशी नागरिकहरूको सिलगढ़ी आगमन निकै कम्ती भएको छ। भिसा पाउने मानिसहरू टुरिष्ट भिसामा आउँथे। तर भिसाको अवधि पनि सकिँदैछ। शिक्षा र चिकित्सा कारणले धेरै मानिसहरू आउँथे। तर अहिले त्यो सङ्ख्या धेरै कम्ती भएको छ जसको कारण आर्थिक नोक्सान भइरहेको छ। परिस्थिति कहिले सामान्य होला, त्यसबारे केही भन्न सकिन्न।