हात्तीको बथानले अलिपुरद्वार जिल्लाको कालचिनी ब्लकका विभिन्न स्थानमा उत्पात मच्चाएको छ। बिहीवार राति हात्तीको बथान कालचिनी ब्लकको सताली नाकाडालामा पसेर धानसहित अन्य अन्नबालीलाई धेरै क्षति पुऱ्याएको छ। हात्तीको बथानले भक्तपाड़ा एसएसके स्कूल भवन अनि आईसीडीएस केन्द्रमाथि पनि उपद्रो मच्चायो। हात्तीको ताण्डवमा स्कूल अनि आईसीडीएस केन्द्रको भान्सा कोठा ध्वस्त बनेको छ। भान्सा कोठामा राखिएको मीड डे मिलका खाद्य सामग्रीहरू पनि हात्तीको बथानले खाइदिएको स्थानीय मानिसहरूले बताएका छन्। हात्तीको बथानले गरेको ताण्डवपछि समग्र क्षेत्रमा सन्त्रास फैलिएको छ।
हात्तीको आक्रमण दिनहुँ हुने घटना बनिसकेको स्थानीय मानिसहरूले बताए। साथै हात्तीको बथानले घर, अन्नबाली अनि अन्न सम्पत्तिहरू नष्ट गरिरहेको पनि तिनीहरूको गुनासो छ। त्यस रातको उपद्रोमा विशेष तीनवटा हात्तीले पूरै गाउँभरि भीषण क्षति पुऱ्याएको पनि स्थानीय मानिसहरूले बताए। प्रशासन अनि वन विभागले हात्तीको बढ्दो आक्रमणमाथि गिद्धे नजर राख्नुपर्ने साथै गाउँवासी हुने क्षतिलाई कम्ती गर्ने प्रयास गर्नुपर्ने स्थानीय मानिसहरूले माग गरेका छन्।