Breaking
Mon. Dec 23rd, 2024

सुपारी तस्करीमा उत्तर बङ्गालको संलग्नता

मणिपुरमा 47 करोड़ रुपियाँको सुपारी तस्करीको योजनालाई असम राइफल्सले विफल बनाइदिएको छ। यस तस्करी सञ्जालमा उत्तर बङ्गालको परोक्ष संलग्नता रहेको प्रमाण अहिले सेना र गुप्तचरहरूको हातमा परेको छ। असम हुँदै ठूलो परिमाणको सुपारीलाई बीरपाड़ा, च्याङ्ग्राबन्धा, कोचबिहार, फालाकाटा, धूपगुड़ी, सिलगढ़ी, रायगञ्ज, मुर्शिदाबाद, नदिया र कोलकाता गरेर 25 स्थानमा पुर्यााउने योजना थियो।यस सञ्जालमा उत्तर बङ्गालका कैयन् व्यापारी, सिलगढ़ीका दुई प्रभावशाली ट्रक मालिक, भन्सार विभागका तीन कर्मचारी र बारोभिसा तथा बाघडुग्राका दुई जीएसटी माफिया संलग्न रहेका जाँचकर्ताहरूले जानकारी पाएका छन्। तिनीहरूबारे सूचना सङ्कलन आरम्भ भइसकेको छ। म्यानमारबाट उत्तर बङ्गालमा एकै दिन लगभग 100 करोड़ रुपियाँको सुपारी तस्करी गर्ने योजना बनाइएको असम राइफल्सले जानकारी पाएको थियो। 13 नोभेम्बरको दिन म्यानमारको सिमाना पार गरेर आउँदै गर्दा मणिपुरको तेङनौपाल जिल्ला र छेउछाउका केही स्थानहरूमा 53 ट्रकमा 47 करोड़को सुपारी फेला पारियो। यस अपरेशनमा 5,44,000 किलो (6,800 बोरा) सुपारी फेला पारिएको थियो।

तर सेनाले कसैलाई पक्राउ गर्न सकेन। सबै तस्करहरू भागेर म्यानमारमा शरण लिए। अपरेशनमा फेला पारिएका केही मोबाइल फोन र एउटा डायरीको अध्ययनबाट तस्करीमा उत्तर बङ्गालको संलग्नता रहेको जानकारी प्राप्त भएको छ। एकजना गुप्तचर अधिकारीअनुसार, तस्करीमा सिलगढ़ीको नाम बारम्बार आएको छ। उत्तर बङ्गालका अन्य जिल्लाहरूको पनि संलग्नता देखिएको छ। जाँच सकिएपछि यसबारे विस्तृत जानकारी दिइनेछ।गुप्तचर सूत्रहरूअनुसार गुवाहाटीनजिक असम-मेघालय सीमामा दुईवटा गोप्य स्थानमा तस्करीका ट्रकहरू बदलिन्छन्। लाइनम्यान औ लिङ्कम्यानहरू पनि परिवर्तन हुन्छन्। पश्चिम बङ्गाल प्रवेश गरेपछि पुलिसको आँखामा धुलो हाल्न ट्रकहरूलाई राज्यको यातायात विभागको ‘उत्तरको सुविधा’ पोर्टलमा दर्ता गराइन्छ। त्यसो गरेपछि ट्रकहरूलाई रोकिँदैन वा जाँच गरिँदैन। सिलगढ़ीका दुईजना गैरबङ्गाली व्यापारीहरूले असम-मेघालय सीमामा परिवर्तन गरिने ट्रकहरू उपलब्ध गराउने गरेका जानकारी गुप्तचरहरूलाई प्राप्त भएको छ। जाँचको क्रममा थुप्रै लिङ्कम्यानहरूबाट ‘सिलगढ़ी न्यू बजार’को नाम पनि तिनीहरूले प्राप्त गरेका छन्। यो ठाउँ खालपाड़ाको नयाँ बजार हुनसक्ने स्थानीय पुलिसले अनुमान लगाएको छ। उत्तर बङ्गाल हुँदै कलकत्तासम्म विभिन्न स्थानमा सुपारी पुऱ्याउने यस चक्रमा केन्द्रीय गुप्तचरसमक्ष बर्मन दादाको नाम अघि आएको छ। तिनको घर असम-बङ्गाल सीमाको बारोभिसामा छ। नक्कली जीएसटी कागजात बनाएर तस्करी गर्न तिनी निपुण छन्। तिनको शिरमाथि बाघडुग्रा इलाकाको एकजना प्रभावशाली व्यक्तिको हात रहेको जानकारी पनि पाइएको छ। उक्त प्रभावशाली व्यक्तिको शुल्क दप्तर र जीएसटी विभागमा राम्रो सम्बन्ध रहेको पनि थाहा पाइएको छ।

बङ्गालमा प्रवेशपछि शुल्क घटाउने विषयमा सिलगढ़ीको होटलमा हालै ट्रक मालिकहरूको दुई प्रतिनिधि र कष्टम विभागका एकजना अधिकारीबीच गोप्य बैठक भएको जानकारी पनि केन्द्रीय गुप्तचरहरूले पाएका छन्। यस अन्तर्राष्ट्रिय सञ्जालबारे गृह मन्त्रालयलाई तीनवटा विशेष रिपोर्ट पठाइएको छ। रक्षा मन्त्रालयलाई पनि प्रारम्भिक रिपोर्ट सेना गुप्तचरहरूले पठाइसकेका छन्।सुपारी तस्करीको जाँच गर्न अहिले उत्तर बङ्गालमा केन्द्रीय गुप्तचरको एउटा विशेष दल आएको छ। तस्करीको एकांश राशि देशी-विदेशी शक्तिहरूको हातमा गइरहेको विषयमा तिनीहरू निश्चित छन्। गत 6 नोभेम्बर भारत-म्यानमार सीमानजिक मोरेबाट असम राइफल्सले 1 लाख रुपियाँको सुपारी फेला पारेको थियो। त्यतिखेर एकजना लिङ्कम्यानलाई पक्राउ गरेर केरकार गर्दा 100 करोड़ रुपियाँको सुपारी तस्करीबारे पहिलोपटक असम राइफल्सले जानकारी पायो। त्यसपछि मणिपुर पुलिसको सीआईडी र स्पेशल टास्क फोर्सलाई सतर्क गराइएको थियो।पछि मिजोरामको चम्फाईमा सिग्रेट तस्करीको क्रममा पक्राउ परेका दुई लिङ्कम्यानबाट 10-15 नोभेम्बरबीच सुपारीले भरिएका 110 वटा ट्रकहरू मणिपुरका विभिन्न स्थानबाट उत्तर बङ्गाल जाने तयारीमा छन् भन्ने सेना गुप्तचरहरूले थाहा पाए। त्यसपछि जाल बिछ्याएर तिनीहरूले सफलता पाए। म्यानमार सीमाबाट सुपारीको बोरा बोक्ने तीनजना स्थानीयहरूलाई पक्राउ गरेपछि अपरेशनको अगावै पाँचवटा ट्रक गन्तव्यतर्फ हिँड़िसकेको गुप्तचरहरूले जानकारी पाए। तर सेनाको अभियानबारे थाहा पाएपछि तस्करहरूले बाँकी 52 ट्रकहरूलाई कतै लुकाएका हुनसक्ने गुप्तचरहरूले अनुमान लगाएका छन्।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *